राजनीति


रातभरिमा मन्त्री टुंग्याउँदै रास्वपा, रविले भने- नेतृत्वलाई विश्वास गर्नुस्

रातभरिमा मन्त्री टुंग्याउँदै रास्वपा, रविले भने- नेतृत्वलाई विश्वास गर्नुस्

नेपालखबर
चैत १२, २०८२ बिहिबार १९:२१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्री र सभामुख छान्ने विषयमा नेतृत्वलाई विश्वास गर्न सांसद र केन्द्रीय सदस्यलाई आग्रह गरेका छन्। 

रास्वपा केन्द्रीय कार्यालय, वनस्थलीमा बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति लामिछानेले मन्त्री छनोटका लागि नेतृत्वलाई विश्वास गर्नुपर्ने बताएका हुन्। रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लगायतका पदाधिकारी उपस्थित थिए। 

संयुक्त बैठकमा सभापति लामिछानेले नै वरिष्ठ नेता शाहलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई केन्द्रीय समिति र संसदीय दलले सर्वसम्मत रुपमा पारित गरेको बैठकपछि रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए। 

संयुक्त बैठकमा सभापति लामिछानेले मन्त्री र सभामुख  छनोटलगायतका विषयमा पनि बोलेका थिए। मन्त्री बन्नका लागि ‘लबिइङ’ नगर्न र नेतृत्वलाई विश्वास गर्नुपर्नेमा उनले जोड दिएका थिए।

सभापति लामिछानेले मन्त्री छनोटका लागि नेतृत्वलाई विश्वास गर्नुपर्ने भनाइ राखेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी एक नेताले नेपालखबरलाई बताए। ‘नेतृत्वलाई विश्वास गरेर मन्त्री, सभामुख छान्ने जिम्मा दिनुस्,’ लामिछानेको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘हामी विज्ञता हेरेर छनोट गर्छौं।’

उनका अनुसार संयुक्त बैठकमा सभापति लामिछानेले धेरै पटक ‘नेतृत्वलाई विश्वास गुर्नस्’ भनेका थिए। लामिछानेको दाहिनेतिर लहरै वरिष्ठ नेता शाह, उपभासपतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले रहेका थिए भने बायाँतिर महामन्त्री कबिन्द्र बुर्लाकोटीलगायत पदाधिकारी थिए। 

रास्वपा संसदीय दलका नेता शाहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै छन्। प्रधानमन्त्रीसँगै शुक्रबार नै केही मन्त्री पठाउने रास्वपाको तयारी छ। 

त्यसका लागि रास्वपा सभापति लामिछाने, संसदीय दलका नेता शाहलगायत पदाधिकारी केही दिनदेखि छलफल गरिरहेका छन्। रास्वपा नेताहरूका अनुसार, अझै कसलाई के मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो लागिसकेको छैन।

शुक्रबार प्रधानमन्त्रीसँगै शपथ लिने मन्त्रीको आज रातभरीमा टुंगो लगाउने प्रयास भइरहेको रास्वपाका एक पदाधिकारीले बताए। ‘केही नाममा छलफल भएको छ, टुंगो लाग्न बाँकी छ,’ उनले भने, ‘आज रातिसम्म मन्त्रीको टुंगो लाग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad