गायक प्रकाश सपुतले प्रतिनिधि सभामा छुटेको जनाउँदै अब ‘इन्टरटेनर’ भएर काम गर्ने बताएका छन्।
भरखरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवार बनेका थिए। तर, सांसदका लागि सिफारिश गर्दा उनी परेनन्।
यसबारे उनले शनिबार सामाजिक सञ्जालमा लामो स्टाटस् लेख्दै प्रष्टीकरण दिएका छन्। उनले आफू तीन उद्देश्यले सांसद बन्न खोजेको र अहिले छुटेको महसूस भएको जनाएका छन्।
उनले तीन उद्देश्यमा लेखेका छन्, ‘नयाँ समय र आन्दोलनलाई सम्बोधन गर्न, पुरानो राजनीतिक अभ्यास, अस्थिरता र भ्रष्टाचार अन्त्य गर्न एउटा नयाँ राजनीतिक शक्तिका रुपमा स्थापित हुन रास्वपालाई समर्थन र सहयोग गर्ने, बालेनको नेतृत्वमा स्थायी सरकार निर्माण गर्न खुलेर लागी पर्ने र यसरी स्थापित नयाँ शक्ति र सरकारलाई उपेक्षित उत्पीडित हाम्रो समुदायको अनुहार देखाइरहने र झकझकाई रहने।’
तैपनि आफू छुटेकोमा कुनै गुनासो नभएको उनले उल्लेख गरेका छन्। रास्वपाको जितमा आफू खुशी रहेको उनको भनाइ छ।
‘यी ३ उद्देश्यले होमिएको निर्वाचन पछि मलाई म छुटे भन्ने त लागेको छ तर आफ्नो उद्देश्य पूरा भएकोमा छोटो तयारीका बीच उत्कृष्ट नम्बर लिएर पास भएको कुनै स्कुले विधार्थी जस्तैः फुरुङग भएको छु,’ प्रकाशले लेखेका छन्, ‘मेरो कुनै गुनासो छैन। म मेरा केही शुभेच्छुक, मेरो जन्म गाउँ, जिल्ला र जो मलाई सदनमा देख्न चाहन्थे उनीहरूका निम्ती दुःखी छु।’
समानुपातिक सांसदमा नपर्ने भएपछि रास्वपा सभापति रवि लामिछानेले फोन गरेर जानकारी गराएको उनले उल्लेख गरेका छन्।
‘समानुपातिकमा नअट्ने भएपछि सभापति रवि दाइले फोन गर्नुभयो- प्रकाशजी तपाई छुट्नु भयो। तपाई जत्तिको मान्छेले संबैधानिक व्यवस्था बुझ्नु हुन्छ। केही छैन। तपाईले उठाउन खोजेको समानताको मुद्दा हामी सबैको साझा मुद्दा हो,’ रविले फोनमा भनेको उल्लेख गर्दै प्रकाशले लेखेका छन्, ‘बरु अब तपाईको आगामी राजनीतिक यात्राबारे केही सोच छ भने मलाई भन्नु होला। पार्टीमा बसेर पनि देशको निम्ति योगदान गर्न सकिन्छ। राजनीतिमा रुचि छैन भने पहिले जस्तै स्वतन्त्र रुपमा आफ्नो सिर्जना मार्फत हामीलाई सहयोग र खबरदारी गर्नु होला।’
त्यसको जवाफमा आफूले कुनै लाभको पदमा नबस्ने र गायकका रुपमा काम गरिराख्ने बताएको उनले लेखेका छन्। जनतालाई मनरोञ्जन दिन चाहेको उनको भनाइ छ।
‘म अब ढुक्कले जनतालाई मनोरन्जन दिन चाहन्छु। मेरो बाल मष्तिकले बोकेको सामाजिक र राजनीतिक चेतको भारी बिसाएर केवल इन्टरटेनर हुन चाहन्छु,’ रविसँग फोनमा भएको कुराकानी उल्लेख गर्दै प्रकाशले लेखेका छन्, ‘म समाज र राज्यको नजरमा एक समान मान्छे हुन चाहन्छु।’
Shares

प्रतिक्रिया