राजनीति


सांसदको शपथ चैत १२ गते

राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध
सांसदको शपथ चैत १२ गते

संघीय संसद सचिवालय प्रवक्ता एकराम गिरी


नेपालखबर
चैत ५, २०८२ बिहिबार १७:४६, काठमाडौँ

संघीय संसद सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरूलाई संसदीय दलको कार्यालय उपलब्ध गराएको छ। 

सचिवालयले बिहीबारदेखि राजनीतिक दलहरूलाई कार्यालय उपलब्ध गराएको प्रवक्ता एकराम गिरीले जानकारी दिए। संसदीय दलका कार्यालय व्यवस्थापन चुनौतीपूर्ण देखिएपनि उपलब्ध स्रोतसाधनभित्रै रहेर कार्यालय व्यवस्थापन गरिएको उनले बताए। उनले दलका प्रतिनिधिहरूलाई कार्यलयको प्रत्यक्ष अवलोकन गराइएको जानकारी दिए।

उनकाअनुसार ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका लागि पहिला नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको कार्यालय उपलब्ध गराइएको छ। यस्तै, अन्य दललाई संख्याअनुसार स्थान बाँडफाँट गरिएको सचिवालयले जनाएको छ। 

उनले भने, ‘आजबाट संघीय संसद सचिवालयले संसदीय दलको कार्यालय उपलब्ध गराएको छ। संख्या अनुसार संसदीय दलको कार्यालय व्यवस्थापन गरेका छौँ। ठूलो दलको लागि अहिले पहिलाको नेकपाको दलको कार्यलयमा व्यवस्थापन गरिएको छ। संसदमा उहाँहरुको प्रतिनिधित्वको आधारमा कार्यालय व्यवस्थापन गरिएको हो।’

सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथग्रहण चैत १२ गते दिउँसो २ बजे गर्नेगरी तयारी पनि गरेको छ। सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार सांसदहरूको शपथग्रहण अगाडी ज्येष्ठ सदस्यको पहिचान गरी राष्ट्रपतिसमक्ष शपथ गराइनेछ। त्यसपछि ज्येष्ठ सदस्यले अन्य सांसदहरूलाई शपथ गराउने उनले जानकारी दिए। 

निर्वाचन आयोगले निर्वाचन परिणाम सचिवालयमा पठाउने बित्तिकै ज्येष्ठ सदस्यको पहिचान गर्ने उनले बताए। ज्येष्ठ सदस्य पहिचान गरेर शपथग्रहणको लागि ३ जनाको नाम राष्ट्रपति कार्यालय पठाइने उनले जानकारी दिए। उनकाअनुसार राष्ट्रपतिले सबैभन्दा ज्येष्ठ एक सदस्यलाई शपथग्रहण गराउनेछन्।

उनले भने, ‘शपथग्रहण यही चैत १२ गते दिउँसो २ बजे गर्नेगरी तयारी गरेका छौँ। सांसदहरूको शपथग्रहण अगाडी ज्येष्ठ सदस्य पहिचान गर्नुपर्ने हुन्छ, ज्येष्ठ सदस्यलाई सम्माननीय राष्ट्रपतिज्यूसँग शपथग्रहण गर्नुपर्ने हुन्छ। र, उहाँले सभाका सदस्यहरुलाई शपथ गराउनुहुन्छ।’ 
 
सचिवालयले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने ६ वटा राजनितिक दलहरूसँग शपथग्रहण, कार्यालय व्यवस्थापन तथा अभिमुखीकरण कार्यक्रमका बारेमा छलफल गरेको थियो। छलफलमा सांसदहरुको अभिमुखीकरण कार्यक्रमबारमा पनि दलहरूसँग सुझाव लिएको उनले जानकारी दिए।

उनकाअनुसार सैद्धान्तिकभन्दा व्यवहारिक पक्षमा केन्द्रित तालिम आवश्यक रहेको दलहरुले सुझाव दिएका छन्। सचिवालयले ती सुझावका आधारमा कार्यक्रमको स्वरूप तय गर्ने उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad