राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन प्रधानमन्त्री बन्ने दिन पर्खिरहेका बालेन शाहकी दिदी सुजाता शाह सेजेकनले बालेनको नेतृत्वमा नेपाल र भारतबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेकी छिन्। लामो समयदेखि भारतको बेंगलोरमा बस्दै आएकी चित्रकार सुजाताले बालेनलाई 'नेताभन्दा बढी एक संवेदनशील मानव' का रूपमा चित्रण गरेकी छिन्।
'बालेन प्रधानमन्त्री भएपछि भारत र नेपालको सम्बन्ध अझै राम्रो हुनेछ,' बीबीसी हिन्दीसँग उनले भनेकी छिन्, 'उनीभित्र कसैप्रति वैरभाव छैन। उनी आफ्ना नागरिक र छिमेकी दुवैको ख्याल राख्ने मान्छे हुन्। उनको दिदी नै भारतमै छिन्, त्यसैले पनि उनी भारतप्रति सकारात्मक रहनेछन्', उनले भनेकी छिन्।
प्रधानमन्त्री नरेन्द्र मोदी र बालेनबीचको हालैको टेलिफोन संवाद 'सकारात्मक' रहेको थाहा पाउँदा आफू निकै खुसी भएको उनले सुनाइन्। राजनीतिमा खासै चासो नभएको बताउने सुजाता आफ्ना भाइले देशको रिक्तता भर्नेमा ढुक्क छिन्।
'हाम्रो देशबाट युवाहरू बाहिरिएका छन्। मेरा साथीहरू कोही पनि नेपालमा छैनन्, देश खोक्रो भएको छ,' उनले भनिन्, 'बालेनले आगामी पुस्ताको भविष्य सुधार्न युवालाई स्वदेश फर्कने अपिल गरिरहेका छन्, यो उनको ठूलो जिम्मेवारी हो।'
बाल्यकालमा बालेन 'ज्ञानी बच्चा' थिए भनेर उनले भनेकी छिन्।
Shares

प्रतिक्रिया