राजनीति


निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्‍याउँछौँ: गृहमन्त्री

निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्‍याउँछौँ: गृहमन्त्री

नेपालखबर
फागुन २०, २०८२ बुधबार १५:२०, काठमाडौँ

अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गरिएको बताएका छन्।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताएका हुन्। उनले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरे।

गृहमन्त्री अर्यालले उच्छृङ्खल गतिविधि गर्नेमाथि कडा कारबाही हुने बताए। गृहमन्त्री अर्यालकाअनुसार सरकारले निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना’ पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालन गरिसकेको छ। अहिले देशभरका सबै मतदान स्थलहरूमा सुरक्षाकर्मीहरू पुगिसकेका छन्। 

उनले भने, ‘ प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ एकीकृत सुरक्षा योजना पारित गरेर त्यसैको आधारमा हाम्रा संयन्त्रहरु परिचालित छन्। त्यो अनुसार अब सबै अहिले सुरक्षा संयन्त्रहरु मतदान स्थलसम्म पुगेका छन्। र अब जतिखेर जे आवश्यक पर्छ, परिएको अवस्थामा सुरक्षाको अवस्थालाई काबुमा राख्ने, सहजीकरण गर्ने गरि देशभरि नै पूर्ण रुपमा अहिले सुरक्षाको प्रत्याभुति दिएको अवस्था छ।’

गृहमन्त्री अर्यालले सुरक्षा व्यवस्था मजबुत रहेकाले कुनैपनि प्रकारको असुरक्षाको महशुस गर्नुन पर्ने स्पष्ट पारे। 

मतपेटिका ढुवानीमा कडा सुरक्षा र गाडीको सिट–प्लान नै तय
मतदान सम्पन्न भइसकेपछि मतपेटिकाहरू कसरी सुरक्षित रूपमा निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याइन्छ भन्ने विषयमा पनि गृहमन्त्री अर्यालले प्रष्ट पारे। सुरक्षा योजनाको अनुसूचि २ मै मतपेटिका बोक्ने गाडीको व्यवस्थापनबारे स्पष्ट लेखिएको उनले जानकारी दिए।

उनकाअनुसार गाडीमा सबैभन्दा अगाडि ड्राइभर र मतदान अधिकृत बस्नेछन्। त्यसको पछाडि मतपेटिका राखिनेछ, मतपेटिकाको पछाडि प्रहरी बस्नेछन् र सबैभन्दा पछाडि मात्र उम्मेदवारका प्रतिनिधिहरू रहनेछन्।

यसका साथै, उक्त मतपेटिका बोकेको गाडीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गाडीले स्कर्टिङ गर्ने र आवश्यक परेको खण्डमा वा असुरक्षा महसुस भएमा नेपाली सेनाको गाडीले समेत स्कर्टिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ। 

निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्‍याइने
निर्वाचनको समयमा कुनैपनि गैरकानूनी वा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले नछाड्ने गृहमन्त्री अर्यालको चेतावनी छ। त्यस्ता गतिविधि नियन्त्रणमा मात्र सिमित नरही कडा कानूनी कारबाहीको दायरामा ल्याइने उनले स्पष्ट पारे। 

उनले भने, ‘त्यस्ता गतिविधि देखिए हामी नियन्त्रणमा मात्रै लिँदैनौँ, कानुनी कारबाही गर्छौं। अनुसन्धान गर्छौं, अभियोजन गर्छौं र अदालतमा पनि पेश गर्छौं। उहाँहरू दण्डको भागिदार बन्नुपर्छ।’

लोकतन्त्रको गुणस्तर र राजनीतिक सुशासनका लागि सुझबुझपूर्ण मतदानको अपिल
अन्तरिम सरकारले गराउन लागेको यो निर्वाचन विगतका निर्वाचनहरू भन्दा अझै सुदृढ, स्वच्छ र धाँधलीरहित हुने दाबी गृहमन्त्री अर्यालले गरे। उनले नागरिकको भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सरकारले सुनिश्चित गरेको बताए।

यस निर्वाचनलाई केवल प्रतिनिधि छान्ने र सरकार बनाउने प्राविधिक प्रक्रियाका रूपमा मात्र नहेरी राजनीतिक सुशासन कायम गर्ने अवसरका रूपमा लिन उनले मतदातालाई आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad