राजनीति


मतदानमा सहभागी हुन आयोगको आग्रह

मतदानमा सहभागी हुन आयोगको आग्रह

नेपालखबर
फागुन २०, २०८२ बुधबार १५:८, काठमाडौँ

निर्वाचन आयोगले भोलि (फागुन २१ गते) हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानमा सहभागी हुन सम्पूर्ण मतदातासँग आग्रह गरेको छ।

आयोगले आज प्रेस विज्ञप्ति प्रकाशित गरी निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै मतदातालाई मतदानमा सहभागिताका लागि अपील गरेको हो।

‘निर्वाचन केवल आफ्ना प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र हैन लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो’ आयोगले भनेको छ, लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो। आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक र कानुनी अधिकार मात्र हैन, लोकतन्त्रप्रतिको नागरिकको जिम्मेवारी हो।’

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निर्वाचन तयारीका शिलशिलामा रामेछापमा सवारी दुर्घटनामा सुरक्षाकर्मी तथा मतदान अधिकृतको निधन भएको, कार्यक्षेत्रमै खटिएको अवस्थामा सर्लाही एवम् मुस्ताङ्ग जिल्लामा मतदान अधिकृत र कञ्चनपुरमा निर्वाचन प्रहरीको निधन भएकोप्रति दुःख व्यक्त गरेका छन्।

यस्तो छ, आयोगको विज्ञप्ति

संवैधानिक दायित्व अनुसार आयोग स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न क्रियाशील छ। संवत् २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनपछि विशिष्ट परिस्थितिमा घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यही फागुन २१ गते बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म देशभर सम्पन्न हुने मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुऱ्याइसकिएको छ। मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैंगिक/अपाङ्गमैत्री व्यवस्था तथा कर्मचारी परिचालनलगायतका सम्पूर्ण कार्यहरू सम्पन्न भइसकेका छन्। मतदाताले निर्वाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदात गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको छ।

मतदान प्रक्रियाको तयारीका सिलसिलामा केही दुखद् घटनासमेत भएका छन्। रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री लिएर मतदान केन्द्र जाने क्रममा भएको सवारी दुर्घटनामा सुरक्षाकर्मी तथा मतदान अधिकृतको निधन भएको छ। त्यसैगरी कार्यक्षेत्रमै खटिएको अवस्थामा सर्लाही एवम् मुस्ताङ्ग जिल्लामा मतदान अधिकृत र कञ्चनपुरमा निर्वाचन प्रहरीको निधन भएको छ। निधन भएका कर्मचारी तथा सुरक्षाकर्मीप्रति आयोग हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दछ।

निर्वाचन केवल आफ्ना प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र हैन लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो। लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुबै हो। आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक र कानुनी अधिकार मात्र हैन, लोकतन्त्रप्रतिको नागरिकको जिम्मेवारी हो। निर्वाचन भनेको नागरिकले आफ्ना प्रतिनिधि चुन्ने, सरकार निर्माण गर्ने र शासन सञ्चालनमा सहभागी हुने, कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा अप्रत्यक्ष संलग्न हुने अवसर हो। यो प्रक्रियाको पूर्णताले मतदानमार्फत नागरिकले नीति, नेतृत्व र शासनको अभिव्यक्ति र समावेशी तथा उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पु(याउने भएकोले यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातामा निर्वाचन आयोग हार्दिक अपिल गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad