‘३५ वर्ष अरुलाई मौका दियौँ, केही गरेनन्। नयाँले अब केही गर्लान् नि त, उनीहरूलाई पनि मौका दिऊँ न!’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गरेका एक युवाले भने। उनी चुनावकै लागि भनेर पहिलो पटक भोट हाल्न नेपाल फर्किएका रहेछन्।
चुनाव आउन ५ दिन मात्र बाँकी हुँदा सिंगै देश निर्वाचनमय भएको छ। नेपालमै रहेका मतदाताहरूलाई निर्वाचन लाग्नु त स्वाभाविक नै हो। तर, यस पटकको चुनावी नतिजाको चासो विदेशी भूमिमा संघर्ष गरिरहेका नेपालीलाई पनि उत्तिकै छ।
अझ चुनावले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नेपालीहरूलाई ज्यादा प्रभावित पारेको देखिन्छ। उनीहरूमा भोट हाल्न पाइने उत्साह त छँदैछ, त्यसभन्दा बढी बालेन शाहलाई प्रधानमन्त्री चुन्ने हुटहुटी देखिन्छ।
‘अब की बार बालेन सरकार!’, ‘देशको प्रधानमन्त्री बालेन शाह!’ ‘भोट फर बालेन!’ विदेशबाट फर्किने अधिकांश युवाको लगेजमा बाहिरपट्टि टाँसिएको कागजमा यस्तै नारा लेखिएको देखिन्छ।
यसरी फर्किनेमध्ये थुप्रै बालेनलाई नै जिताउन आएको बताउँछन्। रोचक कुरा चाहिँ, उनीहरूलाई आफ्नो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार को छ पनि थाहा छैन।
त्यही पनि बालेन प्रधानमन्त्री बन्ने आशमा भोट हाल्नकै लागि नेपाल फर्किएको उनीहरू बताउँछन्। कतिपयले त कम्पनीबाट छुट्टी नपाएकाले राजीनामा दिएर फर्किएको समेत बताए।
तिनैमध्येका एक विकास विश्वकर्मा हुन्। कयौँ वर्षदेखि कतारको विमानस्थलमा काम गर्दै आएका उनी चुनावको लागि छुट्टी नमिलेपछि राजीनामा दिएर फर्किएको बताउँछन्।
‘मेरा अरु दुई साथीहरू पनि फर्किएका छन्,’ उनले सुनाए।
बालेनको सरकार आए देशमै बसेर केही गर्ने, नभए रोजगारीको सिलसिलामा फेरि अरु कुनै देश जाने उनले बताए।
उनी भन्छन्, ‘यदि देशमा परिवर्तन भएन भने यही लगेज बोकेर फेरि विदेश नै जान्छु।’
यस्तै चितवन–२ की सीता विगत १० महिनादेखि आफ्नो छोरासँग अस्ट्रेलियामा बस्दै आएकी थिइन्। उनलाई छोरासँग बस्ने धोको नै पुगेको थिएन। तर, आफ्नो क्षेत्रबाट रास्वपाका उम्मेदवार रहेका रास्वपा सभापति रवि लामिछानेलाई भोट दिनकै लागि अहिले फर्केको बताउँछिन्।
‘मैले त २०७९ को निर्वाचनमा पनि रविलाई नै भोट दिएकी थिएँ,’ उनले सुनाइन्।
त्रिभुवन विमानस्थलमा ओर्लने धेरैजसो नेपालीले बालेन र रविलाई समर्थन गर्ने खालका नारा आफ्नो लगेजमा टाँसेका छन्। कोही भने हर्क साम्पाङको नाम लिन्छन्।
साउदी, कतार, मलेसिया, दुबई, अस्ट्रेलिया, हरेक देशबाट फर्कने नेपालीले नयाँलाई नै समर्थन गर्ने बताए। तर, नयाँलाई समर्थन किन भन्ने प्रश्नको जवाफ धेरैसँग थिएन।
केहीले भने, ‘अरुलाई भोट दिएर हेरियो, यो पटक रास्वपालाई पनि मौका दिनुपर्छ।’
विमानस्थलमा विदेशबाट फर्केका नेपालीहरूसँग नेपालखबरले गरेको कुराकानीको भिडिओ :
Shares

प्रतिक्रिया