करेन्ट चाउचाउको मातृ कम्पनी यशोधा फुड्ससहित आधा दर्जन बढी ठूला र नाम चलेका उद्योग, व्यवसायका लगानीकर्ता एवं रुपन्देही-२ का नेपाली कांग्रेस उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलसँग स्थानीय व्यवसायीले आफ्ना पिरमर्का सुनाएका छन्।
करेन्ट चाउचाउका मालिक पौडेल चुनाबी घरदैलोका क्रममा सर्वसाधारण, व्यापारी, व्यवसायी तथा उद्योगीसँग अन्तरक्रिया गरिरहेछन्। मतदाताले उनलाई व्यापार व्यवसायसँग सम्बन्धित समस्या, गुनासा सुनाइरहेका छन्।
व्यवसायीहरूले प्रदेशको राजधानी बुटवलबाट सारेर दाङ लैजाँदा व्यवसाय चौपट भएको, सरकारको कर प्रणाली व्यवहारिक नभएको र कर्मचारीले व्यापारीलाई ‘चोर’को व्यवहार गर्ने गरेको गुनासो पोखेका छन्।
पहिलो पटक चुनावी मैदानमा आएका उनको प्रतिस्पर्धा नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलसँग हुने अनुमान छ।
व्यवसायीका गुनासा
उद्योगपति उम्मेदवार पौडेलसँग बुटवलको अमरपथ क्षेत्रमा सुनचाँदी व्यवसाय गर्दै आएका विनोद खातीले समग्र देशकै आर्थिक चलायमान बनाउन व्यापार क्षेत्र उकास्नुपर्छ भनेर सुझाव दिए। घरदैलोका क्रममा आफ्नो ढोकामै आएका उम्मेदवारलाई खातीले भने, ‘व्यवसाय चलायमान भयो भने मात्र अर्थतन्त्र चलायमान हुन्छ। त्यसका लागि सरकारले स्पष्ट नीति, स्थिर, वैज्ञानिक कर प्रणाली र लगानीमैत्री वातावरण हुनुपर्छ।’
खातीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सारेपछि यहाँको व्यापारिक गतिविधिमा ठूलो गिरावट आएको विवरण सुनाएका थिए।
अर्का व्यवसायी विष्णु ज्ञवालीले पनि राजधानी सार्ने निर्णयले बुटवलको व्यवसाय चौपट भएको गुनासो सुनाएका थिए। कांग्रेस उम्मेदवार पौडेलसँग छोटो अन्तरक्रियापछि उनले नेपालखबरसँग भने, ‘बुटवल पहिलेदेखि नै व्यवसायिक हब हो तर नेतृत्वको निर्णयले स्थानीय व्यवसायी मारमा परेका छन्।’ उनी मोबाइल सेटको व्यापार गर्छन्।
कर प्रणाली व्यवसाय मैत्री नभएको भन्दै उनले भने, ‘भ्याट, व्यवसाय कर, कर्मचारी, बहाल कर लगायतका शीर्षकमा अहिले ५६ प्रतिशतसम्म कर तिरिरहेका छौँ। हामी कर तिर्न तयार छौँ तर यो व्यावहारिक छैन, कर प्रणाली वैज्ञानिक बनाए हुन्थ्यो।’
बुटवल सहरमा व्यवस्थित पार्किङ, सफा बजार क्षेत्र र पूर्वाधार सुधार नगरी व्यापार फस्टाउन नसक्ने व्यवसायीले सुनाएका छन्। पर्यटकीय सम्भावना बोकेको बुटवललाई राजनीतिक खिचातानीले पछाडि धकेलेको भन्दै उनीहरूले भनेका छन्, ‘संघीय संसद्मा जाने प्रतिनिधिले यी समस्या प्राथमिकतामा राखेर समाधान खोज्नुपर्छ।’
भोट माग्न ढोकामै आइपुगेका चाउचाउ व्यवसायी उम्मेदवार पौडेललाई अमरपथमा कपडा व्यापार गर्ने सुरज लम्सालले अन्डर बिलिङको समस्या नियन्त्रण गर्न सुझाव दिए। १५ वर्षदेखि व्यवसाय गर्दै आएका लम्सालले इमान्दार व्यवसायीलाई काम गर्न गाह्रो रहेको सुनाउँदै भने, ‘व्यवसाय गर्ने मान्छेलाई चोरजस्तो व्यवहार गरिन्छ, यसले मनोबल घटाउँछ। व्यवसायी सबै उस्तै हुँदैनन्।’
निष्पक्ष अनुगमन, पारदर्शी कर प्रणाली र व्यवसायीको सम्मान सुरक्षित हुनुपर्ने उनको माग थियो।
उम्मेदवार चुन्नप्रसादको जवाफ
पौडेलले मतदातासँग चुनाव जित्न मात्र नआएको भन्दै समाधानको बाटो खोज्ने प्रतिबद्धता जनाए। मतदातासँग उनले प्रतिबद्धता जनाउँदै भने, ‘बुटवललाई व्यवस्थित, सुरक्षित र अवसरयुक्त सहर बनाउन स्पष्ट योजना लिएर अघि बढेका छौँ। व्यवसायी बलियो भए मात्र अर्थतन्त्र चलायमान हुनसक्छ। व्यवस्थित उद्योग, बजार, साना व्यवसायीको संरक्षणका लागि संसद्मा गएर नीति र बजेट ल्याउन म पहल गर्नेछु।’
रुपन्देही-२ मा कांग्रेसका पौडेलसँगै एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, नेपाली कम्युनिस्ट पार्टीका शुभाष पाण्डे (विश्वदीप), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ पोखरेलसहित ४० जना उम्मेदवार चुनावी मैदानमा छन्।
Shares

प्रतिक्रिया