राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दाङ जिल्लाको तुलसीपुरस्थित वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको शालिकमाथि उभिएको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ।
रास्वपाका अध्यक्ष रलि लामिछाने दाङ गएको बेलामा रास्वपाका कार्यकर्ताहरुले राजा वीरेन्द्रको शालिकमाथी उभिएका थिए।
उक्त ‘अपमानपूर्ण र अभद्र व्यवहारप्रति राप्रपा लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको’ जनाएको छ।
राप्रपा प्रदेश सचिव राजेन्द्र अधिकारीले आज एक विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गरेका छन्।
‘कसैको आस्थामा असर पर्ने यस्तो खाले अराजकतापुर्ण व्यवहार सह्य हुँदैन। तसर्थ यो गतिविधिको सम्बन्धमा तत्काल रास्वपाले आफ्नो धारणा स्पष्ट पार्दै माफी माग्न आग्रह गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘साथै यस्तो घटना फेरि नदोहोरिने प्रतिवद्वता गर्नहुन समेत आग्रह गर्दछौं।’
राप्रपाले निर्वाचनमा मतदाताले निर्धक्क मतदान गर्न सक्ने वातावरण बनाउनु सबै जिम्मेवार पार्टीको दायित्व हुन्छ भन्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन र अन्य दललाई असर गर्ने कुनै कार्य नगर्न सबै दल तथा व्यक्तिहरूलाई समेत आग्रह गरेको छ।
यसअघि रास्वापका कार्यकर्ताले नेकपा (एमाले) को झण्डा जलाएपछि एमालेले आपत्ति जनाएको थियो।

Shares

प्रतिक्रिया