निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, मर्यादित र प्रतिस्पर्धात्मक बनाउन सबै राजनीतिक दल तथा सरोकारवालाहरूलाई आग्रह गरेको छ।
विगतको ऐतिहासिक सन्दर्भ जोड्दै उनले २०४८ सालको निर्वाचनमा तत्कालीन पुराना शक्तिहरूलाई प्रचार प्रसार र उम्मेदवारीमा निषेध गरिएका कारण राजनीतिमा नकारात्मक असर परेको र उनीहरू निर्वाचित हुन नसकेको स्मरण गराए।
सो समयमा भएको निषेधको राजनीतिले प्रजातन्त्रको सुन्दरतालाई ओझेलमा पारेको उल्लेख गर्दै उनले यसपटकको निर्वाचनमा त्यस्तो कार्य पूर्णतः बर्जित हुनुपर्नेमा जोड दिए।
प्रमुख आयुक्त भण्डारीले निर्वाचनमा सहभागी सबै शक्तिहरू समान हैसियतमा हुनुपर्ने र उनीहरूले स्वच्छ तवरले प्रतिस्पर्धा गर्ने वातावरण पाउनु नै वास्तविक निर्वाचन भएको बताए।
‘राजनीतिमा मान र सम्मानको संस्कृति विकास गर्नुपर्ने, अरूलाई सम्मान दिनेले मात्र आफूले मान पाउने भएकाले निषेधको राजनीति नगर्न सुरुदेखि नै आयोगले आग्रह गरिरहेको छ,’ उनले भने, ‘हाल निर्वाचन प्रचार प्रसारको समयमा मुलुकभरको अवस्थालाई आयोगले सूक्ष्म रूपमा अध्ययन र अनुगमनहरू गरिरहेको छ।’
कतिपय ठाउँमा देखिएका निषेधका छिटपुट प्रयासहरूलाई तत्काल सम्बन्धित नेताहरूसँगको समन्वयमा नियन्त्रण गरिएको उनले जानकारी दिए। कानुनले वर्जित गरेका कामहरू बन्द गरी आफ्ना कार्यकर्ताहरूलाई अनुशासनको लयमा ल्याउन दलका नेताहरूले गरिरहेको प्रयासलाई उनले सकारात्मक रूपमा लिएका छन्।
यसका साथै, प्रमुख आयुक्त भण्डारीले निर्वाचनलाई सफल बनाउन सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण र अपरिहार्य रहेको बताए।
सञ्चारकर्मीहरूले अहिले सम्प्रेषण गर्ने समाचारले इतिहास कोर्ने र भोलिका दिनमा एउटा ऐतिहासिक पुस्तिकाको रूप लिने उनको विश्वास छ। अप्ठ्यारो अवस्थामा पनि मुलुकको हितका लागि सञ्चार क्षेत्रले निर्वाह गरेको दायित्वले भविष्यमा स्वयं सञ्चारकर्मीलाई पनि आत्मसन्तुष्टि र गौरव प्रदान गर्ने उल्लेख गरे।
सबैलाई अनुशासनको परिधिभित्र रहेर प्रतिस्पर्धा गर्न प्रेरित गर्ने समाचार सम्प्रेषण गर्नु नै सञ्चार जगत्को मूल दायित्व भएको भन्दै निष्ठापूर्वक कार्य सम्पादन गर्न आग्रह गरे।
Shares

प्रतिक्रिया