नेकपा एमालेले फागुन २१ को निर्वाचनका लागि प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राख्दै महत्त्वाकाङ्क्षी चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। एमालेले नेपालको आफ्नै 'सोभरन लार्ज ल्याङ्ग्वेज मोडल' (एलएलएम) र भू–उपग्रह स्थापनादेखि १० लाख युवालाई स्वरोजगार बनाउनेसम्मका प्रविधिमैत्री योजना अघि सारेको हो। एआई (आर्टिफिसियल इन्टेलिजेन्स) का चुनौती सामना गर्न 'एआई केन्द्र' स्थापना गर्ने र नागरिक एपलाई सरकारी सेवा एकीकृत हुने 'सुपर एप' का रूपमा विकास गर्ने एमालेको सङ्कल्प छ।
आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी:
(१) सोभरन लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) : नेपालको आफ्नै (सोभर्नर लार्ज ल्याङ्ग्वेज मोडल) विकास गरी प्रयोगमा ल्याउने र छोटो समयमै प्रभाव पार्न सक्ने क्षेत्रहरूमा एआई प्रविधि तत्काल लागू गर्ने।
(२) एआई केन्द्रको स्थापना: सूचना प्रविधिको संस्थागत विकासका लागि एकीकृत र स्वायत्त संरचना अन्तर्गत 'एआई सेन्टर' स्थापना गर्ने।
(३) विदेशी लगानी आकर्षण: एआई तथा हाइपरस्केल डेटा सेन्टर जस्ता पूर्वाधारहरूमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउने रणनीति लिने।
(४) एआई सिर्जित चुनौतीको सामना: डिपफेक, गलत सूचना र अल्गोरिदमबाट सिर्जित पूर्वाग्रहमार्फत समाज विभाजित गर्ने कार्यलाई रोक्न आवश्यक विधि र संरचना निर्माण गर्ने।
(५) रोजगारी सिर्जना: सार्वजनिक र निजी क्षेत्रमा एआईको बढ्दो उपयोगबाट नयाँ सेवा उद्योगहरू विस्तार गरी थप रोजगारीका अवसरहरू सिर्जना गर्ने।
प्रविधि तथा डिजिटल रूपान्तरण:
(६) सुपर एपको विकास: हालको नागरिक एपलाई 'सुपर एप'का रूपमा विकास गरी सबै मन्त्रालय र सरकारी सेवाहरूलाई पूर्ण रूपमा एकीकृत गर्ने।
(७) स्वदेशी भू-उपग्रह: नेपालको आफ्नै भू-उपग्रह स्थापना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल कनेक्टिभिटी सुनिश्चित गर्ने।
(८) डिजिटल नेपाल फ्रेमवर्क: डिजिटल नेपाल फ्रेमवर्कलाई समयानुकूल परिमार्जन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।
(९) दश लाख युवालाई स्वरोजगार: एआई, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ र एप डेभलपमेन्ट जस्ता क्षेत्रमा तालिम दिएर १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने।
(१०) टेक पार्क र इनोभेसन हब: स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्न देशभर टेक पार्क र इनोभेसन हबहरूको विस्तार गर्ने।
(११) डिजिटल पूर्वाधार इकाइ: डेटा सेन्टर, राष्ट्रिय परिचयपत्र प्रणाली र अन्य डिजिटल पूर्वाधारहरूको सञ्चालनका लागि एकीकृत संस्थागत ढाँचा तयार गर्ने।
(१२) अनलाइन सेवाको विस्तार: आइटी, डिजिटल र रिमोट रोजगारीका अवसरहरू सिर्जना गरी युवाका लागि स्थानीय स्तरमै उद्यमशीलताको वातावरण बनाउने।
Shares

प्रतिक्रिया