नेपाली राजनीतिमा यसपालि गएको भूकम्पको केन्द्रविन्दु झापा देखिए पनि यसको कम्पन देशभरि महसुस भइरहेको छ। काठमाडौँ महानगरको मेयर र राजधानीको तामझाम त्यागेर जब बालेन शाहले झापा–५ को चुनावी मैदान रोजे, तब धेरैलाई लागेको थियो– ‘यो केवल एउटा लहड हो।’
तर, निर्वाचनको राप बढ्दै जाँदा यो लहड मात्र नभएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै आँगनमा अल्झाउन बुनिएको राजनीतिक चालजस्तो देखिन थालेको छ।
बालेनको लक्ष्य यसपालि मेयर मात्र होइन, देशकै प्रधानमन्त्री बन्ने छ। प्रधानमन्त्री बन्ने त्यो हुटहुटी बोकेर ओलीको वर्षौँदेखिको किल्ला मानिने झापा–५ मा उनी ओर्लिएपछि त्यहाँको राजनीतिक सन्तुलन एकाएक खल्बलिएको छ। बालेनले आफूलाई सहज हुने काठमाडौँ वा मधेसका कुनै क्षेत्र रोजेका भए ओली यसरी आफ्नै निर्वाचन क्षेत्रमा ‘नजरबन्द’ हुनुपर्ने थिएन। तर, आज दृश्य फेरिएको छ– हिजो देशैभरि हेलिकोप्टरमा उडेर भाषण गर्ने ओली आज आफ्नै निर्वाचन क्षेत्रमा मतदाताको दैलोदैलो पुग्न व्यस्त छन्। मतदाताको प्रश्न, गुनासो र आलोचना सुन्न विवश छन्।
अघिल्ला निर्वाचनहरूमा ओली पार्टीको कमान सम्हालेर देशका विभिन्न कुनामा पुग्थे। तर, यसपालि झापा–५ मा बालेनको उपस्थितिले उनलाई आफ्नै किल्ला जोगाउन मुस्किल पारिदिएको देखिन्छ। ओली आफैँ मतदाताको घरदैलोमा पुगिरहेका छन्। मतदाताले गर्ने आलोचना र आक्रोश स्वयम् आफैँले सुनिरहेका छन्। मतदाताको घरदैलोमा पुगिरहेका भिडिओमा देखिने उनको छटपटी हेर्दा लाग्छ, बालेनले उनलाई आफ्नै साख जोगाउन धौ–धौ पारिदिएका छन्।
यो बदलिँदो परिदृश्यलाई राजनीतिक विश्लेषक लोकराज बराल एउटा गम्भीर मोडको रूपमा व्याख्या गर्छन्।
बराल भन्छन्, ‘केपी यसपालि एमालेको दबाबमा छन्। पार्टी बिगार्ने र एमालेलाई यहाँसम्म पुर्याउनेमा जवाफदेही उनी आफैँ हुन्। उनी त म त्यत्रो अधिवेशन गर्छु भन्थे, तर आफ्नै लागि समर्थन गराउन मात्रै त्यो अधिवेशन भयो। अहिले एमालेमा त्यस्तो उत्साह देखिँदैन।’
ओली किन झापामै सीमित भए त? बरालको विश्लेषण छ, ‘ओली झापा ५ मा सीमित हुनुको कारण हार्छु भन्ने डर हो। बालेनले एउटा हावा चलाइदिएका छन्। बालेनले के गरे, कसो गरे, केही हेर्नु छैन, तर जताततै बालेन–बालेन भन्ने हल्लाले ओलीलाई अप्ठ्यारो परिरहेको छ। ओलीको बोली र उनले नयाँ पुस्ताको भावनालाई बुझ्न नसक्दा उनी रक्षात्मक भएका हुन्।’
यता रास्वपाबाट झापा–५ मा बालेनका चुनावी कमान्डर तोकिएका विरोध सुवेदी ओली छटपटाएको बताउँछन्।
सुवेदी भन्छन्, ‘अहिले हामीलाई बहुमत पुर्याउनै पर्ने प्रेसर छ। तर, उहाँहरू (एमाले) डिफेन्सिभ स्थितिमा पुग्नुभयो। बालेन झापामा खडा हुनुको अर्थ ओलीलाई आफ्नै क्षेत्रमा रोकेर राख्नु जस्तै देखिए पनि हाम्रो मुख्य उद्देश्य देशभर घन्टीको माहोल बनाएर बहुमत ल्याउनु नै हो।’
एमाले रक्षात्मक हुनु स्वाभाविक भएको उनको भनाइ छ।
सुवेदी भन्छन्, ‘अहिले उहाँ (ओली) र उहाँका मान्छेहरूले मतदातालाई व्यक्तिगत रूपमा फोन गर्न थालेको सुनिएको छ। ०७९ को निर्वाचनमा त उहाँ मनोनयन दर्ता गर्न आउनुभयो र विजय जुलुसको दिन मात्र देखिनुभएको थियो। तर, अहिले उहाँ हरेक सम्पर्क कार्यालयमा पुग्न बाध्य हुनुहुन्छ। हामी बहुमत ल्याउनेगरी आक्रामक अवस्थामा हुँदा उहाँ रक्षात्मक स्थितिमा देखिनुहुन्छ। यो स्वाभाविक नै हो।’
राजनीतिक विश्लेषक कृष्ण खनाल त ओलीको यो दौडधुपलाई उनको राजनीतिक अवसानको संकेतका रूपमा हेर्छन्।
खनाल भन्छन्, ‘ओली त अब सान्दर्भिकता गुमाएको उम्मेदवार हुन्। उनी त्यही सान्दर्भिकता गुमाएको छटपटीमा छन्, त्यो भन्दा बढी म केही देख्दिनँ। सान्दर्भिकता गुमाएको उम्मेदवारको दशा यस्तै हुन्छ।’
एमालेका केन्द्रीय सदस्य तथा झापा ५ का चुनावी कमान्डर देवेन्द्र दाहाल भने ओलीको सक्रियतालाई हार्ने डर नभई मतदाताको सम्मान र भ्रम निवारणको अभियान मान्छन्।
दाहाल भन्छन्, ‘अध्यक्ष आज फेरि आउनुभयो। यहाँका शिक्षकहरूसँग अन्तर्क्रिया सकेर धिमाल बस्ती पुग्नुभयो। त्यहाँ उहाँको भव्य स्वागत भयो। यो पालि रणनीति अलि फेरिएको छ। मतदातालाई प्रत्यक्ष भेट्ने, उनीहरूको कुरा सुन्ने योजना छ। यो पालि अलि बढी भ्रमहरू छरिए। भदौ २३ र २४ को घटनाका सन्दर्भमा जसले आगो लगाए, तिनैले भ्रम छरिरहेका छन्। त्यसैले अध्यक्ष आफैँ परिस्थिति क्लियर पार्न जनताको बीचमा जानुभएको हो।’
‘कतै हारिने डरले त होइन?’ भन्ने प्रश्नको जवाफमा दाहाल भन्छन्, ‘हारिने डर होइन। हार्ने स्थिति पनि छैन। हामीले यो क्षेत्रमा धेरै मतान्तरले जितेका हौँ, त्यो साख कायमै राख्न अलि मेहनत त गर्नैपर्छ।’
दाहालले ओली सातै प्रदेशमा बालेनजस्तै घुम्न जरुरी नभएको बताए।
‘सात वटै प्रदेश घुम्ने भनेको कतिपयले रहर पुर्याउने हुनसक्छ। हाम्रो अध्यक्षले त्यस्तो धेरैपटक घुमिसक्नुभएको छ, उहाँले चुनावी सन्देश प्रवाह गरे मात्रै पुग्छ। यद्यपि केहीकेही चुनावी सभामा जानुहुन्छ होला, जनताको माग पनि त्यस्तै छ,’ उनले भने।
एमाले उपमहासचिव योगेश भट्टराईको प्रतिक्रियाले भने पार्टीभित्रको मनोविज्ञान अलि फरक देखाउँछ।
भट्टराई भन्छन्, ‘म त यतै काठमाडौँमै छु। भर्खरै त चुनाव सुरु भएको छ, उहाँ (ओली) को पनि सेड्युल होला, जिल्लाजिल्ला जाने कार्यक्रम होला नि त।’
पार्टी महाधिवेशनमा पदाधिकारीमा जित्दाजित्दै यसपटक ताप्लेजुङबाट टिकट नपाएका भट्टराईको यो तटस्थ जवाफले ओली कतै यसपटक आफ्नै गढभित्र एक्लै संघर्ष गरिरहेका त छैनन् भन्ने प्रश्न उब्जाएको छ।
यो निर्वाचनको सबैभन्दा रोचक पक्ष भनेकै राजनीतिका एक पुराना महारथी आफ्नो भूगोलमा कैद हुँदा अर्का नयाँ विद्रोहीले देशैभरि पखेटा फैलाउनु भएको विश्लेषकहरू बताउँछन्। यसका पछाडि केही गहिरा राजनीतिक र रणनीतिक कारणहरू छन् ः
१. ओलीलाई विरासत जोगाउनुपर्ने बाध्यता
रास्वपाले बालेनलाई झापा पठाउनुको मुख्य उद्देश्य नै ओलीलाई आफ्नो क्षेत्रबाट बाहिर निस्कनै नदिने गरी अल्झाउनु थियो। ओली एमालेका एक मात्र यस्ता नेता हुन्, जसले देशभरि भीड जम्मा गर्न सक्थे। यदि उनी झापाबाट निस्किएर देशभरि चुनावी सभामा हिँड्ने हो भने बालेनले झापामा ओलीको विरासत भत्काउन सक्ने खतरा हुन्छ। आफ्नै निर्वाचन क्षेत्र गुमाउनु भनेको ओलीको राजनीतिक अवसान हो। त्यसैले, अहिले ओली देशभरिका कार्यकर्तालाई ढाडस दिन जानुभन्दा आफ्नो घर बचाउनु पर्ने बाध्यात्मक स्थितिमा देखिन्छन्।
२. आक्रोशको सामना र विरासतको संकट
वर्षौँदेखि एउटै अनुहार र उही उखान–टुक्का सुन्दै आएका झापा ५ का मतदाता यसपटक ‘एन्टी–इन्कम्बेन्सी’मा देखिन्छन्। बालेन त्यही वितृष्णालाई आफ्नो फाइदाका लागि उपयोग गर्न चाहन्छन्। ओलीले हिजोका दिनमा गरेका कडा टिप्पणी र उनको कार्यशैलीप्रति नयाँ पुस्तामा जुन आक्रोश छ, त्यो आक्रोश अहिले ओलीले घरदैलोमा स्वयम् भोगिरहेका सार्वजनिक भिडिओहरूमा पनि देख्न सकिन्छ।
३. बालेन : झापामा उम्मेदवार, देशभरि ‘परिवर्तनको ऐना’
यता बालेनले भने झापामा २४ सै घण्टा बसिरहनु परेको छैन। उनी अहिले एउटा चुनावी पात्र मात्र होइनन्, रास्वपाको तर्फबाट ‘परिवर्तनको प्रतीक’ नै बनिरहेका छन्। उनी सातै प्रदेशमा हिँड्नुको अर्थ हो– देशभरिका साना–ठूला निर्वाचन क्षेत्रमा घन्टीको पक्षमा जनलहर सिर्जना गर्नु। उनी झापामा ओलीलाई व्यस्त राखेर आफू चाहिँ देशभरिको ‘सेन्टिमेन्ट क्याप्चर’ गर्ने दाउमा छन्। उनले सातै प्रदेशमा अनुहार देखाउँदा रास्वपाका अन्य उम्मेदवारहरूका लागि भोट माग्न सहज भएको छ।
४. सान्दर्भिकता
राजनीतिक विश्लेषक कृष्ण खनालले भने झैँ, ओलीका लागि यो चुनाव आफ्नो सान्दर्भिकताको पुष्टि गर्ने अन्तिम परीक्षा हो। हिजोको जस्तो राष्ट्रवाद वा रेल र ग्यासको गफ अहिलेका मतदातालाई चित्त बुझिरहेको छैन। त्यसैले बालेनले महानगरको डेलिभरीलाई आफ्नो परिचय बनाएर हिँडिरहँदा ओलीलाई आफ्नो पुरानो विरासत जोगाउन गाह्रो परिरहेको देखिन्छ।
झापा ५ मा ओलीलाई रोकेर देशभर घन्टीमय माहोल बनाउने बालेनको यो चाल कति सफल होला, त्यो त परिणामले बताउला। तर, रास्वपाका नेताहरू ओलीलाई आफ्नै किल्लामा सीमित गराउनु बालेनको लागि पहिलो जित भइसकेको दाबी गर्छन्।
Shares

प्रतिक्रिया