कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दायर गरेको रिटमा कांग्रेस केन्द्रीय कार्यालयले तामेली बुझेको छ।
केन्द्रीय कार्यालय कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार सर्वोच्च अदालत पुगेर उक्त रिटमा तामेली बुझेका हुन्।
दुलालले नेपालखबरसँग भने, ‘आज म सर्वोच्च अदालत गएको थिएँ। तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवहाक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन अवैध हो भनेर निर्वाचन आयोग, नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएर रिट दिनु भएको थियो। त्यसको आज मैले तामेली बुझेको हुँ।’
विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा गगन थापाको नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिने निर्णय गरेपछि वैधानिकताको प्रश्न उठाउँदै देउवा र खड्का रिट लिएर सर्वोच्च पुगेका थिए। देउवा र खड्काको रिटमा कांग्रेस केन्द्रीय कार्यालय रातोपुल उल्लेख भएकाले कांग्रेसले तामेली बुझ्न आनाकानी गरेको थियो।
‘नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा मात्र छ। रातोपुलको ठेगाना उल्लेख भएकाले कसरी तामेली बुझ्ने भन्ने थियो। अहिले तामेली बुझ्न साथीहरूले आग्रह गरेपछि म आज सर्वोच्च पुगेर तामेली बुझेर आएको छु।’
तामेली बुझेको १५ दिनभित्र जवाफ पेस गर्नुपर्ने हुन्छ।
उनले थपे, ‘तामेली बुझेको दिनबाट १५ दिनेभित्र जवाफ पेस गर्नुपर्ने भन्ने छ। त्यसमा १५ दिन समय पनि लिन पाउने व्यवस्था छ। हामी लिखित जवाफ पेस पनि गर्छौं।’
Shares

प्रतिक्रिया