राजनीति


समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, अब उम्मेदवार फेर्न नपाइने (सूची)

समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, अब उम्मेदवार फेर्न नपाइने (सूची)

नेपालखबर
माघ २०, २०८२ मंगलबार १९:३६, काठमाडौँ

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ। आयोगको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले ६३ राजनीतिक दलका तर्फबाट प्रस्तावित ३ हजार १३५ उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिएको हो।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका  अनुसार सार्वजनिक सूचीमा महिलाको संख्या पुरुषको तुलनामा बढी छ। जसमा १ हजार ७३२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार कायम भएका छन्। संवैधानिक व्यवस्थाअनुसार दलहरूले बुझाएको बन्दसूचीमा खस आर्य, आदिवासी जनजाति, थारू, दलित, मधेशी र मुस्लिम समुदायको क्लस्टर मिलाउनु पर्ने प्रावधानलाई आयोगले कडाइका साथ जाँचबुझ गरेको थियो।

यसअघि दलहरूले पेश गरेका सुरुवाती सूचीमा दोहोरिएका नाम, दाबी–विरोध तथा कागजात अपुग भएका उम्मेदवारहरूको नाम हटाएर यो अन्तिम विवरण सार्वजनिक गरिएको हो। आयोगले  बन्दसूचीको विस्तृत विवरण र उम्मेदवारको व्यक्तिगत विवरण वेबसाइटमा राखेको छ।

मिश्रित निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभाका २७५ सदस्यमध्ये ११० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ। यस प्रणालीमा मतदाताले उम्मेदवारलाई नभई राजनीतिक दललाई मतदान गर्छन्। दलहरूले प्राप्त गरेको कुल सदर मतका आधारमा सिट बाँडफाँड गरिन्छ।

निर्वाचन ऐन, २०७४ अनुसार दलहरूले कुल उम्मेदवारमध्ये कम्तसमा ५० प्रतिशत महिला र तोकिएको जनसंख्याको अनुपातमा क्लस्टर मिलाउनुपर्ने अनिवार्य व्यवस्था छ। आयोगले अन्तिम सूची सार्वजनिक गरेसँगै अब यी उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् तर बन्दसूचीमा नाम रहेका व्यक्तिहरूले अब नाम फिर्ता लिन पाउने छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad