राजनीति


जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान

जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान

नेपालखबर
माघ १९, २०८२ सोमबार १२:२४, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्। 

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा सोमबार बिहान आयोजित जापानका व्यापारिक समुदायसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानी गर्न आह्वान गरेका हुन्। नेपाल जापानी निजी क्षेत्रसँग साझेदारी निर्माण गर्न रहेको बताए। 

‘हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पूँजी फिर्तिका लागि सहज प्रक्रियाहरू सहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौँ, नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न  प्रतिबद्ध छ’, राष्ट्रपति पौडेलले भने। 

उनले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गर्दै कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई पनि धनी बनाउन र जापानलाई पनि फाइदा लिन आग्रह गरे। ‘नेपालमा लगानी गरे धन पनि हुन्छ, धर्म पनि हुन्छ,’ उनले भने। 

नेपाल-जापान मित्रताको चर्चा गर्दै राष्ट्रपति पौडेलले दुई देशको सरकारी मात्रै नभएर जनस्तरमा पनि प्रगाढ रहेको बताए। ‘नेपाल र जापानबीच सद्भाव, मित्रता र सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध रहिआएको छ, आज यहाँको व्यापारिक समुदायको उत्साहजनक सहभागिता नेपाल र जापानबीच तिब्र व्यापार र लगानी सम्पर्क स्थापित गर्न फलदायी हुनेछ भन्ने मेरो विश्वास छ,’ उनले भने। 

उनले राजनीतिक स्थिरतासँगै नेपालका प्रयासहरू सामाजिक न्याय, सुशासन र जनताको समृद्धि प्राप्तिमा केन्द्रित रहेको उल्लेख गरे। नेपाल अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति हुन लागेको र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्नु महत्त्वपूर्ण उपलब्धि रहेका रुपमा व्याख्या गरे। 

राष्ट्रपति पौडेलले भने, ‘यस्तो अभियानमा ठूलो स्रोत साधनको आवश्यकता पर्छ, अन्य कुराका अलावा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा अत्यधिक विदेशी लगानी आकर्षित गर्ने, नेपालको व्यापार बढाउने, अन्तर-आवद्धता विविधीकरण गर्ने, पर्यटन प्रवर्द्धन गर्ने एवं उच्चस्तरीय प्रविधि हासिल गर्ने कुरामा ध्यान केन्द्रित गरिएको छ।’

नेपालले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिमा आधारित उद्योगलगायत लगभग हरेक क्षेत्रलाई विदेशी लगानीका लागि खुला गरेको उनले बताए। व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न व्यापक कानुनी, प्रक्रियागत तथा संस्थागत सुधारहरू गरेको उनले जानकारी दिए। 

कार्यक्रममा जापानी व्यापारिक समुदायका सदस्यले नेपालमा यति धेरै लगानीको अवसर रहेको थाहा पाउँदा खुशी लागेको र यसले लगानीको ढोका खोल्न योगदान पुग्ने धारणा राखेका थिए। कार्यक्रममा परराष्ट मन्त्रालयका  सचिव अमृत राई र सहसचिब भृगु ढुंगानाले नेपालमा लगानीको सम्भाव्यताबारे प्रस्तुती राखेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad