राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशभित्र विदेशीको हस्तक्षेप नाङ्गो रुपमा बढेको बताएका छन्।
पार्टी निकट जातीय समता समाज लुम्बिनी प्रदेशको शुक्रबार बुटवलमा प्रथम सम्मेलन उद्घाटन गर्दै केसीले पछिल्लो समय नेपालमा बाह्य हस्तक्षेप बढ्दै गएको उल्लेख गरे।
उनले अहिलेको अवस्थामा सम्पूर्ण देशभक्त शक्ति एकजुट भएर वैदेशिक हस्तक्षेपविरुद्ध लड्नुपर्नेमा जोड दिए।
चुनाव नजिकिँदै गएकाले देशभक्त पार्टी राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूलाई विजयी गराउन केसीले आग्रहसमेत गरे।
‘अहिले विदेशीको हस्तक्षेप नाङ्गो रुपमा बढेको छ। जनता सचेत भएर विदेशी हस्तक्षेपविरुद्ध नलड्ने हो भने देशै रहँदैन कि भन्ने अवस्थामा पुगेको छ’ केसीले भने, ‘कुनै देश बिग्रनुमा नेताको मात्रै दोष हुँदैन। जनता र मिडियाको पनि दोष हुन्छ। त्यसकारण सबै जनता सचेत भएर राष्ट्रियताको पक्षमा, गणतन्त्रको पक्षमा र भ्रष्टाचारविरुद्ध लडिरहेको शक्ति राष्ट्रिय जनमोर्चालाई जिताउन आवश्यक छ।’
केसीले अहिलेको २१औँ शताब्दिमा पनि छुवाछुत जस्तो सामाजिक कूरीति रहिरहनु लज्जाको विषय भएको बताए।
कार्यक्रममा समता समाजका नेता खगेश्वर सुनारले वास्तविक जातीय छुवाछूतबाट मुक्त हुन सामाजिक चेतना र संघर्ष अपरिहार्य रहेको बताए। उनले जातीय विभेद फैलाउनेहरू अपराधी भएको उल्लेख गर्दै त्यस्ता अपराधलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखे।
जातीय समता समाज लुम्बिनी प्रदेशका अध्यक्ष अहिन्द्र विकको अध्यक्षतामा भएको उद्घाटन समारोहमा युवक संघका उपाध्यक्ष चोबबहादुर विक, कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलाम र सुरेश थापा, वामपन्थी बुद्धिजीवी दुर्गानाथ खरेल, किसान नेता चन्द्रबहादुर केसी, रक्तिमकी छितिजा राहादी, रेशम विकलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
Shares

प्रतिक्रिया