राजनीति


देउवाबिनाको डडेल्धुरा कसको पोल्टामा : राष्ट्रिय छवि बनाएका नैनसिंह र विद्रोही ताराबीच टक्कर

देउवाबिनाको डडेल्धुरा कसको पोल्टामा : राष्ट्रिय छवि बनाएका नैनसिंह र विद्रोही ताराबीच टक्कर

लोकेन्द्र भट्ट
माघ ८, २०८२ बिहिबार २२:४७, काठमाडौँ

३४ वर्षपछि पहिलो पटक डडेलधुराको चुनावमा शेरबहादुर देउवा छैनन्। त्यसैले यसपालि यो जिल्लाले कसलाई चुन्ला भन्ने आम चासो छ।

कांग्रेसमा नयाँ नेतृत्व आएपछि संसदीय राजनीतिबाट बिदा दिएका देउवाले सात वटा चुनाव जितेको आफ्नो विरासत विश्वासपात्र नैनसिंह महरको काँधमा बिसाएका छन्। महरसँग नेकपा एमालेबाट चक्र स्नेही, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मानसिंह माल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा तारा जोशी चुनावी मैदानमा उत्रिएका छन्। मुख्य प्रतिस्पर्धा भने महर र जोशीबीच हुने आकलन गरिएको छ।

धार्मिक, पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिने डडेल्धुरा सुदूरपश्चिमको सात पहाडी जिल्लाको ‘ट्रान्जिट प्वइन्ट’ पनि हो। प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको यो जिल्लमा उम्मेदवारहरू स्थानीय र राष्ट्रिय एजेन्डाका साथ उभिएका छन्।

यहाँ खासगरी पश्चिम सेती, पञ्चेश्वर जलविद्युत् परियोजना निर्माण, डडेल्धुरा मेडिकल कलेज, विमानस्थल, खानेपानी समस्या समाधान, साँघुरो सडक विस्तार, डडेल्धुरा–धनगढी सडक चार लेन बनाउने, जिल्लालाई भारतको टनकपुरसँग जोड्न महाकाली नदीमाथि पक्की पुल निर्माण गर्ने लगायत पूर्वाधार चुनावी मुद्दा बन्दै आएका छन्। यसमध्ये पश्चिम सेती, पञ्चेश्वर, मेडिकल कलेज, सडक चौडा पार्ने काम प्रक्रियामा छन्। 

यसका अलावा कानुन निर्माण र राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने विषय पनि उम्मेदवारको एजेन्डाको सूचीमा थपिएको छ।

राष्ट्रिय छवि बनाएका महर 
२०४८ देखि ०७९ सम्म सात वटा संसदीय निर्वाचनमा देउवा अपराजित रहेको डडेल्धुरामा कांग्रेसले अन्ततः उनका विश्वासपात्र महरलाई पठाएको छ। देउवाको सिफारिसमा माघ ६ गते बिहान पार्टी सभापति गगन थापाले महरलाई डडेल्धुराको टिकट थमाएका थिए। महरको राजनीतिक यात्रा डडेल्धुरामा नेपाल विद्यार्थी संघबाट सुरु भएको थियो। २१ वर्षको उमेरमा २०५२ सालमा नेपाल विद्यार्थी संघ डडेलधुराको कार्यवाहक अध्यक्ष भएका उनी २०५६ सालमा नेविसंघ डडेलधुरा अध्यक्ष निर्वाचित भएका थिए।

नेविसंघको जिल्ला अध्यक्ष रहँदै २०५३ सालमा कान्तिपुर दैनिकको रिपोर्टर बनेका महरले राष्ट्रिय समाचार समिति र रेडियो नेपालमा २०५७ सम्म काम गरेका थिए। २०५४ सालमा पार्टीको डडेल्धुरा प्रचार विभाग उपप्रमुखको रूपमा काम गरेका महर २०५७ मा नेविसंघको चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य बने। केन्द्रीय सदस्य हुँदा नेविसंघको संगठन विभाग प्रमुख भएरसमेत काम गरेका उनी २०६४ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्ष चुनिए। 

२०७३ सालमा नेविसंघको अध्यक्ष बनेका उनी कांग्रेस १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बने। यसअघि उनी कांग्रेस शिक्षा विभाग प्रमुख समेत थिए। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र एलएलबी गरेका महरका पाँच वटा किताब प्रकाशित छन्। २०६२–६३ सालको जनआन्दोलनमा तीन महिना जेल जीवन बिताएका महरले दैवी प्रकोप उद्धार पदक–२०५६ र कन्स्ट्रक्टिभ स्टुडेन्ड लिडर अवार्ड–२०१० जीएनएससी (बेलायत) पाएका छन्। 

फेरिएको राजनीतिक परिस्थितिमा देउवाले नवपुस्ताको चाहना अनुसार आफूलाई अगाडि सारेको महर बताउँछन्। 

‘कांग्रेसबाट २०४८ सालदेखि नेता शेरबहादुर देउवा क्रियाशील रहँदै आउनुभयो। डडेल्धुराका जनताले उहाँलाई निर्वाचित गर्दै आउनुभयो। फेरिएको परिस्थितिमा उहाँले नवपुस्ताको चाहना अनुसार मलाई अगाडि सार्नु भएको छ,’ उनले भने।

डडेल्धुराको विकास, समाजिक चेतना, शिक्षा, स्वास्थ्य, दुरसञ्चार र मान्छेको जीवनशैलीका मुद्दालाई उठाएर महर चुनावी मैदानमा छन्। 

‘उहाँले नयाँ पुस्ता खोज्दा मैले तपाईंको अधुरा सपनालाई साकार गर्न सक्छु, म तयार छु, त्यो योजना, सम्बन्ध र तागत मैले राख्छु भनेँ,’ महर भन्छन्, ‘संघर्षले खारिएर आएको र समाजले खोजेको सच्चा चरित्रको व्यक्ति भएकाले प्रत्यक्ष रुपमा जनताको सेवा गर्न मैदानमा आएको हुँ।’

‘सांसदले कानुन बनाउने हो। कानुन तर्जुमामा आजको संसद् कम क्रियाशील हुँदा राष्ट्रलाई चाहिने कानुन निर्माण हुन सकेन। त्यसले संविधानमा भएका नागरिकका हक–अधिकार डेलिभरी गर्न सकेनौँ। डडेल्धुराको प्रतिनिधि भएर राष्ट्रलाई चाहिने कानुन बनाउने पहिलो एजेन्डा हो,’ उनी भन्छन्।

नेपालकी प्रथम महिला मन्त्री द्वारिकादेवी ठकुरानी, मुक्ति क्रान्तिका नायक किसान नेता भीमदत्त पन्त र लोकतन्त्रवादी योद्धा डडेल्धुरा कांग्रेसका संस्थापक एनडीप्रकाश चटौत र डडेल्धुरालाई दुनियाँमा चिनाउने देउवाले कोरेको लोकतान्त्रिक मार्गलाई अझ फराकिलो बनाएर सुदूरपश्चिमको स्वाभिमान र सिङ्गो देशको रूपान्तरणसँग जोड्ने ऐतिहासिक दायित्वको प्रारम्भ भएको महरको भनाइ छ। 

‘उहाँहरूका अधुरा योजना र नयाँ पुस्ताको कल्पनालाई साकार गर्ने मेरो दोस्रो एजेन्डा हुनेछ। नेपाली कांग्रेसलाई जनताको सामीप्यमा लैजाने नागरिकका सबै समस्याको उठान गरी समधानको खोजी गर्न लाग्ने छु,’ उनले भने। 

डडेल्धुरामा २०१५ देखि ०७९ सम्मका चुनावमा कंग्रेसले कायम गरेको बर्चस्व आफ्नो चुनाव जित्ने पहिलो आधार भएको उनी बताउँछन्। 

‘शेरबहादुर देउवाले लामो समय कांग्रेसको बर्चस्व कायम गरेको जिल्ला भएकाले उहाँको संरक्षकत्व र अभिभाकत्वमा पार्टी भएकाले हामी उहाँको साथमा रहन्छौँ। उहाँका सपना पूरा गर्छौँ,’ काठमाडौँमा भएको अखण्ड सुदूरपश्चिम आन्दोलनका कमान्डर महर भन्छन्, ‘सुदूरपश्मिको पहिचानलाई देश–विदेशमा स्थापित गराउन लागि पर्छु। हिजो काठमाडौँका सडकबाट मैले उठाएको आवाजका कारण डडेल्धुराका जनताले सदनमा पुर्‍याउनु हुनेमा म विश्वस्त छु।’

राज्यको पहुँचभन्दा टाढा रहेका सिमान्तकृत वर्गलाई मूलधारमा ल्याउने स्पष्ट खाका र प्रविधिमैत्री विश्व परिवेशमा हुर्किएको नवपुस्ता तथा ‘जेनजी’का नवीनतम आकांक्षाहरूलाई सम्बोधन गर्ने भिजनसहित चुनावी मैदानमा उभिएको उनी बताउँछन्। 

जोशीको विद्रोही शैली
महरको मुख्य प्रतिस्पर्धीमा सुदूरपश्चिम प्रदेश सांसदबाट राजीनामा दिएर नवोदित रास्वपाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका वामपन्थी पृष्ठभूमिका डा तारा जोशीलाई हेरिएको छ। विद्रोही स्वभावका जोशीको संसदीय यात्रा हार–जित मिश्रित छ।

दोस्रो संविधानसभा निर्वाचनमा देउवा निर्वाचित हुँदा तत्कालीन एमालेको उम्मेदवार बनेका जोशी तेस्रो भएका थिए। ०७४ सालमा प्रदेशसभा निर्वाचनमा पनि जोशी कांग्रेसका कर्णबहादुर मल्लसँग पराजित भए। तत्कालीन वाम गठवन्धनबाट साझा उम्मेदवार बनेका जोशीलाई कांग्रेसका मल्लले दोस्रो हार चखाएका थिए।

कांग्रेसबाट विद्रोह गरेका मल्लको सर्मथन पाएपछि ०७९ को प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका जोशीले कांग्रेस उम्मेदवार गोविन्द बोहरालाई हराए। संसदीय राजनीति जस्तै एमालेको पार्टी राजनीतिमा जोशीले साह्रो–गाह्रो भोगेको देखिन्छ। एमाले डडेल्धुरा अध्यक्ष हुँदा २०७५ मा एमाले–माओवादी एकताबाट नेकपा बन्दा अध्यक्षको जिम्मेवारीबाट हटाइए। अदालतको आदेशमा एमाले–माओवादी पार्टी २०७५ जेठ अघिकै अवस्थामा फर्किंदा पनि उनको अध्यक्ष पद खोसियो। त्यसपछि उनी एमाले विभाजन भई माधव नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीतिर लागे।

०७९ को निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर जितेका जोशीले तीन वर्ष बेचैनीमा बिताए। उनी कहिले एमालेका पूर्वउपाध्यक्ष भीम रावलको अभियानतिर ढल्किए भने कहिले एकीकृत समाजवादीमा फर्किने प्रयास गरे। सुदूरपश्चिम प्रदेशको सरकार निर्माणको अंकगणितमा एमाले रोजेका जोशी अन्ततः रास्वपा प्रवेश गरी प्रदेश सांसद छोडेर चुनावी मैदानमा उत्रिएका छन्। 

गन्यापधुरा गाउँपालिका–२ का जोशीले भारतको कुमाउँ विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले जवाहरलाल नेहरू विश्वविद्यालयबाट पूर्ण छात्रवृत्ति कोटामा अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक सम्बन्धमा विद्यावारिधिको पढाइ पूरा गरेका थिए। विद्यार्थी जीवनमै कैलाली बहुमुखी क्याम्पसबाट राजनीतिक यात्रा सुरु गरेका उनी ०५४ सालको स्थानीय निर्वाचनमा गाविस अध्यक्षमा पराजित भए। ०५५ सालमा पत्रकारिता सुरु गरेका जोशीले कञ्चनपुरबाट प्रकाशन हुने वैचारिक पत्रिका ‘शिखा’ साप्ताहिकको सम्पादकका रुपमा पनि काम गरे। केही समय उनले शिक्षण पेसामा पनि बिताएका थिए। 

डा जोशी भन्छन्, ‘अर्थतन्त्रका लागि नयाँ तरिकाले सोच्नु पर्नेछ। नयाँको भावना र पुरानाको अनुभव आजको आवश्यकता हो। मैले त्यो कुराको प्रतिनिधित्व गर्छु।’

देशले भोगेको समस्यालाई समाधान गर्ने मार्गचित्र आफूसँग रहेको उनको दाबी छ। 

‘रोजगारी, सामाजिक न्याय र सुशासनको मुद्दा उठाउने र संस्थागत गर्नुपर्ने छ,’ उनले भने। 

प्रदेश सांसदबाट बीचैमा राजीनामा दिएका जोशी जनताको मागले प्रतिनिधिसभा उम्मेदवार बनेको बताउँछन्। 

डडेल्धुरामा एमालेबाट चक्रबहादुर स्नेही चुनावी मैदानमा छन्। पूर्व राष्ट्रियसभा सदस्य समेत रहेका उनी एमालेको पुरानो नेतामध्येका एक हुन्। डडेल्धुराको आवाज, भावना, समस्या र आवश्यकतालाई हिजो पनि राष्ट्रिय सभा संसद भवनबाट सरकारको कान खुल्ने गरी सुनाएको भन्दै फेरि प्रतिनिधिसभामा डडेल्धुराबासी आवाजको प्रतिनिधित्व गर्न आफूले चाहेको उनको भनाइ छ।

देउवा चुनावी मैदानमा नआएपछि डडेल्धुरामा जित्ने आधार बलियो बनेको नेकपाको भनाइ छ। नेकपाका उम्मेदवार मानसिंह मालले आफू युवा उम्मेदवार रहेको भन्दै मतदाताहरूले विश्वास गर्ने दाबी गरे। 

‘पहिलो कुरा त म युवा, दोस्रो मेरो छवि राम्रो छ। यहाँका सबै घरपरिवारसँग मेरो व्यक्तिगत चिनाजानी छ। यहाँको विकासको लागि जनतासँगै रहेको छु। यस कारण म जित्छु,’ उनले भने।

देउवाको विरासत र मल्ल फ्याक्टर 
२०४८ यता भएका सबै संसदीय निर्वाचनमा डडेल्धुराबाट कांग्रेसको एकछत्र राज देखिन्छ। ०७९ को स्थानीय निर्वाचन, प्रतिनिधि सभामा देउवाको भारी मतान्तरको जित र समानुपातिक मतमा पहिलो स्थान हुनुले कांग्रेस गणितीय रूपमा बलियो छ। 

०५१ मा कांग्रेसभित्रको अन्तरकलह, ०६४ को माओवादीको प्रभाव र ०७४ को वाम लहरले समेत देउवाको किल्ला भत्काउन नसकेको थिएन। २०७९ मा गठबन्धनका साझा उम्मेदवार देउवाले २५ हजार ५३४ मत प्राप्त गरी विजयी हुँदा स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार मत ४२ मत पाएका थिए। एमालेले उम्मेदवारी दिएको थिएन भने तत्कालीन माओवादी कांग्रेससँगको गठबन्धनमा थियो। कांग्रेसले अमरगढीसहित पाँच पालिका र २९ वडा अध्यक्ष जितेको छ। बाँकी दुई पालिका र १५ वडा अध्यक्ष नेकपासँग छन्। एमाले ५२ मध्ये ४ वडा अध्यक्षमा सीमित छ भने कांग्रेस (बीपी) का २ र स्वतन्त्र २ वडाध्यक्ष छन्।

गत निर्वाचनमा कांग्रेसले डडेल्धुरामा समानुपातिकतर्फ १८ हजार ५६२, एमालेको ९ हजार २१४, नेकपाको ९ हजार ३७२, कांग्रेस बीपीले ४ हजार ५१४, रास्वपाले ३ हजार ६५० र राप्रपाले १५ सय पाएको छ। विगतको अनुकूल अंकगणितका साथ देउवाको विरासत जोगाउन महरलाई कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल फ्याक्टर मिलाउन सक्दा थप सहज हुनेछ। गत निर्वाचनमा देउवाविरुद्ध उम्मेदवारी दिएका मल्ल यसपटक चुनावी मैदानमा छैनन्। 

कांग्रेस बीपीलाई कांग्रेससँग एकता गराउने चाहेका मल्ललाई फागुन २१ अघि भित्र्याउँदा देउवाबिनाको कांग्रेसलाई जित दर्ता गराउन ठूलो राहत हुनेछ। कांग्रेस बीपीको डडेल्धुरामा वडा तहसम्मै संगठन छ। जिल्लाका ५२ वटै वडा, सात पालिका, दुई वटा प्रदेश र जिल्ला कार्यसमिति छ। 

मल्लले ०७९ को निर्वाचनमा देउवाविरुद्ध उम्मेदवारी दिँदा ७ हजार ५३५ मत ल्याएका थिए। कांग्रेस बीपीसँग एकता हुँदा कांग्रेसको समानुपातिक मत नै २३ हजार ६७ हुन्छ। कांग्रेसले कारबाही फुकुवा गरेर घर फर्क अभियान चलाएपछि मल्ल कांग्रेसमा फर्किन सकारात्मक देखिन्छन्। मल्लका अनुसार कांग्रेस बीपी कांग्रेससँग सम्मानजनक रुपमा एकताको पक्षमा छ। यद्यपि फागुन २१ को निर्वाचनबारे अहिलेसम्म मल्ल मौन छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad