राजनीति


मंगलबारै पर्सा अदालतमा उपस्थित भएर फरार अभियुक्त बन्नबाट जोगिए रवि, १ करोड धरौटी बुझाएर ढुक्क

मंगलबारै पर्सा अदालतमा उपस्थित भएर फरार अभियुक्त बन्नबाट जोगिए रवि, १ करोड धरौटी बुझाएर ढुक्क

उजिर कार्की
माघ ६, २०८२ मंगलबार २२:११, काठमाडौँ

सोमबार जनकपुरमा विशाल सभा सम्पन्न गरेर प्रतिनिधि सभाको चुनावमा उम्मेदवारी दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन फर्किएका थिए। तेस्रो पटक चितवन–२ बाट निर्वाचन लड्न लागेका रवि लामिछानेले उम्मेदवारी भने वारेसमार्फत दर्ता गरे। 

किनकि उनी जिल्ला अदालत पर्सामा उपस्थित हुनुप¥यो। पर्सा अदालतको नजरमा उनी फरार अभियुक्त थिए। मुद्दाले कुन हदसम्म समस्यामा पार्छ भन्ने रविले चेतिसकेका छन्। 

पहिलो पटक चितवनबाट निर्वाचित हुँदा नागरिकताको मुद्दाले उनको गृहमन्त्री र सांसद पद गुम्यो। त्यसपछि उनले नागरिकताको प्रक्रिया मिलाए र उपनिर्वाचनमा पुनः भारी मतान्तरले निर्वाचित भए। त्यसपछि फेरि सम्पत्ति शुद्धीकरणको मुद्दामा परेर सांसदबाट निलम्बित भए। उनी निलम्बित हुँदै संसद् विघटन भयो। 

रवि राजनीतिमा आएदेखि नै मुद्दामामिलामा जेलिएका छन्। त्यही भएर अचेल अलिक सचेत पनि बन्दै गएको देखिन्छन्। त्यसैको उदाहरण हो, पर्साको सानो पाइला सहकारीको मुद्दा।

पर्साको सानो पाइला सहकारी ठगीको मुद्दामा रविलाई पनि प्रतिवादी बनाइएको छ। यसअघि कारागारमा रहेका लामिछानेको पर्साको मुद्दामा थुनछेक भएको थिएन। कारागारमै भएकाले उनी थुनछेकका लागि उपस्थित हुन जरुरी पनि ठानेनन्। 

तर सुप्रिम सहकारी ठगीको मुद्दामा बिगो बापतको पनि धरौटी जम्मा गरेर उनी रिहा भए। रिहा भएपछि भने उनी जिल्ला अदालतको नजरमा फरार अभियुक्त थिए। म्याद नाघिसकेपछि उनलाई प्रहरीले जुनसुकै बेला पक्राउ गरेर अदालतमा उपस्थित गराउन सक्थ्यो। 

फरार रहँदा निर्वाचनमा उम्मेदवार नबन्दा पनि उनलाई अप्ठेरो पर्न सक्थ्यो। उम्मेदवारी दर्ता गरिसकेपछि उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पर्न सक्थ्यो र उनलाई फरार अभियुक्त भन्दै उम्मेदवारीमा समेत अप्ठेरो पर्न सक्थ्यो। त्यही भएर उनले उम्मेदवारी दिनुपहिले नै अदालतको झमेला टुंग्याउने निर्णय गरे। 

उनको उम्मेदवारीलाई सहज पार्नकै लागि सरकारले संगठित अपराध र सम्पत्ति शुद्धीकरणका कसुर फिर्ता लिने प्रक्रिया अगाडि बढाएको छ। ती मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेका रिटमा पनि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ भयो। 

तर न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अन्तरिम आदेश दिएन। दुवै पक्षलाई छलफलमा झिकाएको छ। उता रुपन्देहीमा मंगलबार नै सहकारी ठगी बाहेकका कसुर फिर्ताको प्रक्रिया अगाडि बढिसकेको छ। सरकारी वकिल कार्यालयले अभियोग संशोधनका लागि अदालतमा निवेदन दिएर सुनुवाइ अगाडि बढेको छ।

पर्सामा एक करोड बुझाएर फर्किए चितवन 
जिल्ला अदालत पर्साले माग गरेको एक करोड धरौटी बुझाएर रवि चितवन फर्किएका छन्। चितवन फर्किनु पहिले उनले आफ्ना अदालती झमेलाबारे सामाजिक सञ्जालमा पनि उल्लेख गरेका छन्।

‘देश निर्वाचनमय छ। देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ। तर विडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन। किनकि आजै देशका तीन वटा (पर्सा, काठमाडौँ र रूपन्देही) अदालतमा मेरो मुद्दाको सुनुवाइ चलिरहेको छ,’ रविले लेखेका छन्, ‘अरू अदालतको आदेश आउँदै होला। पर्सा जिल्ला अदालतबाट म भर्खर निस्किएको छु।’

चितवन–२ मा मनोनयनका लागि कुरिरहेका कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफूविरुद्ध पाप र अत्याचार गरिएको र त्यसको हिसाबकिताब हुने चेतावनी पनि दिए।

‘ममाथि गरेको पाप र अत्याचारको हिसाबकिताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिनेछन्। देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर ममाथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ,’ उनले लेखेका छन्, ‘नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू। सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दैमुद्दा लगाउने अत्याचारी हौ तिमीहरू। मलाई जिउँदो छोडेर तिमीहरूले एउटा गुन लगाएका छौँ। म तिमीहरू सबैको गुन तिर्छु, चाँडै तिर्छु, बिना प्रतिशोध तिर्छु। फेरि पनि भन्छु म अभिमन्यू होइन।’ 

अदालतमा मंगलबार बयान दिँदा पनि उनले कसुरमा इन्कार गरेका थिए। गोरखा मिडिया नेटवर्क बाहेक कुनै पनि संस्थाहरूसँग आफ्नो सम्बन्ध, सरोकार नरहेको दाबी गर्दै बयान दिएका थिए। कुनै पनि सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउनेमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै संसदीय छानबिन समितिको प्रतिवेदनले पनि त्यसलाई पुष्टि गर्ने उनले बयानमा भनेका छन्।
 
तर, उनले गोरखा मिडियाको संस्थापक तथा सेयर धनी सदस्य भई २०७७ चैत १ देखि २०७९ असार २ गतेसम्म प्रबन्ध निर्देशक भई काम गरेको देखिएको छ। सहकारीबाट ४ करोड १५ लाख रुपैयाँ आएको र संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा पनि रकम दुरुपयोग भएको पुष्टि हुने दाबी अदालतको छ। २०७८ साउन १९ गते एक करोड ५० लाख सानो पाइलाबाट ऋण लिएको पनि अभिलेखबाट भेटिएको आदेशमा उल्लेख छ। यी प्रमाणहरूलाई आधार बनाउँदै रवि लामिछाने कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको आदेशमा भनिएको छ। 

‘निज रवि लामिछानेबाट एक करोड नगद धरौटी, जेथा जमानत वा बैंक ग्यारेन्टी दिएमा तारेखमा राख्नू। बुझाउन नसकेमा कानुन बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागारमा पठाउनू,’ आदेशमा भनिएको छ। 

माग बमोजिम एक करोड धरौटी बुझाएर रवि चितवन फर्किएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad