राजनीति


ओलीलाई योगेशको 'अन्तिम' अनुरोध: छाती विशाल बनाउनूस्, अझै उम्मेदवार मिलाउनूस्

ओलीलाई योगेशको 'अन्तिम' अनुरोध: छाती विशाल बनाउनूस्, अझै उम्मेदवार मिलाउनूस्

केपी ओली र योगेश भट्टराई


नेपालखबर
माघ ५, २०८२ सोमबार १४:४२, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई देशभरका १० वटाजति निर्वाचन क्षेत्रका उम्मेदवारमा पुनर्विचार गर्न आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनले अध्यक्ष ओलीलाई महाधिवेशनमा कसले सहयोग गर्‍यो वा गरेन भन्ने सोच त्यागेर १० वटाजति निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार परिवर्तन गर्न माग गरेका हुन्।

यद्यपि अब आफूलाई भने उम्मेदवारी नचाहिएको पनि उनले उल्लेख गरेका छन्।

‘यो अन्तिम अवसरमा पनि म अध्यक्ष कमरेड केपी ओलीलाई भन्न चाहन्छु- देशभरि मैले यस्तो सात/आठवटा निर्वाचन क्षेत्र मैले देखिराख्या छु, त्यहाँ देखादेखि हाम्रो पार्टी कमजोर हुने हो कि भन्ने आशंका पैदा भएको छ। त्यसकारणले कमरेड अध्यक्ष तपाईं यो पार्टीको नेता हो, हामी सबैको सम्मानित नेता हो। तपाईंले विशाल छाति बनाउनूस्’, भट्टराईले भनेका छन्, ‘यतिबेला मलाई महाधिवेशनका बेला सहयोग गरे कि गरेनन् भन्ने आधारमा पक्कै पनि तपाईं उभिनु हुने छैन। यतिबेला नेकपा एमाले जित्छ कि जित्दैन भन्ने नै मिसन हो। सायद अध्यक्षको कुरा पनि त्यही नै हो, मैले बुझेअनुसार। त्यसैले देशभरिका सात, आठ, नौ, दशवटा जति निर्वाचन क्षेत्रमा भोलि बिहानसम्म पनि मिल्छ भने उपयुक्त ढंगले उम्मेदवारहरू प्रस्तुत गर्ने काममा म अध्यक्षको ध्यानाकर्षण गर्न चाहन्छु। मैले पहिले पनि भनेको थिएँ- व्यक्तिगत हिसाबले मेरो कुनै डिमान्ड छैन।’ 

ताप्लेजुङमा २०७४ र २०७९ दुवै बेलाका प्रतिनिधि सभा निर्वाचन जिते पनि योगेशलाई यसपालि एमालेले टिकट दिएन। अध्यक्ष ओलीले उनको सट्टा त्यहाँ फागुन २१ मा हुने चुनावका लागि क्षितिज थेबेलाई उम्मेदवार बनाएका छन्।

जेनजी आन्दोलनपछि एमालेमा नेतृत्व परिवर्तनको आवाज उठाइरहेका योगेश हालै सम्पन्न एघारौँ महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा उठेका ईश्वर पोखरेलको समूहबाट उपमहासचिव पदमा विजयी भएका हुन्।   

उम्मेदवार चयन सम्बन्धमा यस्तो छ योगेश भट्टराईको पूरा भनाइ

हाम्रो श्रद्धेय पार्टी अध्यक्ष कमरेड केपी ओलीलाई भन्न चाहन्छु। आज पनि १६५ वटा निर्वाचन क्षेत्रमध्ये केही क्षेत्रमा अहिले पनि उम्मेदवारहरूलाई मिलाउन सकिन्छ भने मिलाउनूस् म अध्यक्ष कमेरडलाई हम्बल रिक्वेस्ट गर्न चाहन्छु। मैले मेरो लागि मागेको छैन। म स्पष्ट भइसकेँ कि म ताप्लेजुङबाट उम्मेदवा हुन इच्छुक थिएँ। तर पार्टी अध्यक्षले सार्वजनिक ढंगले निर्णय गरेर पठाइसकेपछि अब त्यसम कुनै किचलो गर्नेवाला छैन। उहाँले जसलाई उम्मेदवार दिएर पठाउनुभएको छ। नेकपा एमालेको सूर्य चिह्न ध्वजावाहक ताप्लेजुङबाट उहाँलाई जिताउनु मेरो कर्तव्य हुनेछ। त्यसमा म दृढताका साथ अघि बढ्छु। अब मेरा लागि म केही पनि माग गर्दिनँ। तर कतिपय ठाउँहरूमा साथीहरूमाथि अलिकति न्याय भएन कि भन्ने गुनासोहरू आएको छ। स्थानीय पार्टी कार्यकर्ताको, समर्थकहरूको भावना बुझिएन कि भन्ने कुरा आएको छ। मैले देखेँ- सचिवालय बैठक पछाडि पनि दर्जनौँ ठाउँहरूमा उम्मेदवारहरू चेन्ज गरिएको छ। त्यसकारण यो अन्तिम अवसरमा पनि म अध्यक्ष कमरेड केपी ओलीलाई भन्न चाहन्छु- देशभरि मैले यस्तो सात/आठवटा निर्वाचन क्षेत्र मैले देखिराख्या छु, त्यहाँ देखादेखि हाम्रो पार्टी कमजोर हुने हो कि भन्ने आशंका पैदा भएको छ। त्यसकारणले कमरेड अध्यक्ष तपाईं यो पार्टीको नेता हो, हामी सबैको सम्मानित नेता हो। तपाईंले विशाल छाती बनाउनूस्। यतिबेला मलाई महाधिवेशनका बेला सहयोग गरे कि गरेनन् भन्ने आधारमा पक्कै पनि तपाईं उभिनु हुने छैन। यतिबेला नेकपा एमाले जित्छ कि जित्दैन भन्ने नै मिसन हो। सायद अध्यक्षको कुरा पनि त्यही नै हो, मैले बुझेअनुसार। त्यसैले देशभरिका सात, आठ, नौ, दशवटा जति निर्वाचन क्षेत्रमा भोलि बिहानसम्म पनि मिल्छ भने उपयुक्त ढंगले उम्मेदवारहरू प्रस्तुत गर्ने काममा म अध्यक्षको ध्यानाकर्षण गर्न चाहन्छु। मैले पहिले पनि भनेको थिएँ- व्यक्तिगत हिसाबले मेरो कुनै डिमान्ड छैन।  

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad