काठमाडौँ महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावको तयारी तीव्र पारेका छन्। बालेनले झापा ५ बाट उम्मेदवारी दिने चर्चा छ।
सो क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो। जहाँबाट ओली लगातार चुनाव लडिरहेका छन्।
सोही कारण अन्तिम निर्णय गर्नुअघि बालेनले आफ्नो कोर टिमलाई झापा पठाएका छन्। बिहीबार उनको टिमका चार जना झापा पुगिसकेका छन्। यो टिमले शुक्रबारबाट विशेष अभियान थाल्दैछ।
उम्मेदवारी दर्ता गर्नुअघि त्यस क्षेत्रको अन्तिम वस्तुस्थिति बुझ्न उनीहरूलाई झापा पठाइएको बालेनको सचिवालयका एक सदस्यले नेपालखबरलाई जानकारी दिए।
‘भोलिबाट हाम्रो चुनावी अभियान सुरु हुन्छ। मनोनयन गर्नुअघि एउटा तयारी गर्छाैँ,’ सो टोलीका एक सदस्यले नेपालखबरसँग भने, ‘सम्भव भएसम्म यथार्थ पहिचान गरेर पठाउँछौँ।’
पहिलो पटक प्रतिनिधि सभा निर्वाचन लड्न लागेका बालेनले झापा ५ रोजेर अनावश्यक जोखिम लिन खोजेको भन्दै आलोचना पनि भइरहेको छ।
‘आन्तरिक टिमले सर्वे गरिरहेको छ, भोलि सकिन्छ,’ ती सदस्यले भने।
त्यसो त बालेनलाई महोत्तरीबाट चुनाव लड्न पनि प्रस्ताव आएको छ।
‘तर, झापा ५ मै भन्ने छ, अब यताउता नहोला,’ सचिवालयका ती सदस्यले थपे।
काठमाडौँ महानगरपालिकाको मेयर उठ्नुअघि पनि बालेनले लामो समय तयारी गरेका थिए। यसपटक पनि उनले झापामा विभिन्न टोली परिचालन गरेका छन्। कोर टिमले रिपोर्ट दिएपछि मात्र बालेन झापा झर्नेछन्।
‘मनोनयन दर्ता गर्नुअघि हामी एउटा विशेष तयारी गर्छाैँ,’ ती सदस्यले भने, ‘अनि मात्र मेयर साब झापा आउनुहुन्छ।’
माघ ५ गतेबाट औपचारिक रुपमा चुनावी अभियान थाल्ने तयारीमा रहेका बालेन सुरुमा जनकपुर जाने कार्यक्रम छ।
विशेष कार्यक्रम सकेर मात्र उनी झापा जानेछन्। सम्भवतः ६ गते मात्र उनी झापा पुग्ने उनको सचिवालयले जनाएको छ।
झापा पुगेको टोलीले चार दिन अध्ययन गरेर रिपोर्ट पठाएपछि बालेनले चुनावी क्षेत्रको औपचारिक घोषणा गर्नेछन्। सामाजिक सञ्जालबाट पनि उनले सो जानकारी दिने तयारी गरेका छन्। उम्मेदवारी दिएपछि मात्र घरदैलो कार्यक्रम सुरु गर्ने बालेनको चाहना छ।
‘चुनावी अभियान उम्मेदवारी दिएपछि मात्र हुन्छ,’ सचिवालयका ती सदस्यले थपे, ‘चुनावमा कोर टिमका ६–७ जना हुन्छन्।’
बालेनले यसपटक पनि घरदैलो अभियानलाई प्राथमिकता नै दिनेछन्।
बालेनलाई सहयोग गर्दै आएका निर्देशक निश्चल बस्नेत पनि झापामै छन्। उनी बालेनकै लागि त्यहाँ पुगेको चर्चा छ।
एउटा टोलीले यसअघि नै अध्ययन गरेर सुझाव दिएका आधारमा बालेन चुनाव लड्ने मनस्थितिमा पुगेको सचिवालयका सदस्यहरू बताउँछन्।
झापा ५ मा बालेनका लागि सम्पर्क कार्यालय र बस्ने घर खोज्ने काम भइरहेको छ।
काठमाडौँ महानगरपालिकामा कांग्रेस–एमालेका उम्मेदवारलाई हराएर मेयर बनेका बालेन यसपटक पनि हेभीवेट नेताविरुद्ध मैदानमा उत्रिने तयारीमा छन्।
Shares

प्रतिक्रिया