नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी कुनै नेता विशेषको प्रचार गर्न नहुने बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँगको समायोजन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
पार्टीले सामूहिकतामा विश्वास गर्ने भएकाले पनि व्यक्तिको प्रचारमा जोड दिन नहुने उनको तर्क थियो। सहसंयोजक नेपालले पार्टीका नेताहरूले गरेका राम्रा कामको प्रचार र नराम्रा कामको जिम्मेवारी लिने परिपाटी पनि स्थापित गरेर अघि बढ्न आवश्यक रहेको बताए।
उनले एमालेप्रति लक्षित गर्दै व्यक्तिको प्रशंशा गर्दा पार्टीको हालत कमजोर हुँदै गएको जिकिर गरे।
उनले भने,‘पार्टीमा राम्रो कामको प्रचार गर्नुपर्छ। कमजोरी भए जिम्मा लिनुपर्छ। कमजोरी भएका छन् भने त्यसको जिम्मा लिनुपर्छ। यसको अर्थ यो होइन कुनै नेता विशेषको प्रचार, यो पार्टीको प्रचार हो। यो पार्टी सामुहिकतामा विश्वास गर्दछ। त्यसो हुनाले हामी विभिन्न पार्टीको हालत देखिरहेका छौँ। त्यसबाट हामीले सिक्नुपर्ने आवश्यक्ता पनि छ। विगतका एकताको प्रक्रियाबाट पनि हामीले सिक्नुपर्ने हुन्छ।’
सहसंयोजक नेपालले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउने चुनौति रहेको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढ्ने गरी अघि बढ्नुपर्ने बताए।
सहसंयोजक नेपालले पार्टीमा प्रवेश गरेका विभिन्न घटकहरुलाई एकतावद्ध गरेर लैजानका लागि प्रशिक्षणलगायतका कार्यक्रमलाई जोड दिनुपर्ने समेत बताए।
Shares

प्रतिक्रिया