नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेता रमेश लेखकले पार्टीभित्रको विवाद समाधान गर्न गरिएको प्रयास असफल भएको बताएका छन्।
बुधबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा जारी बैठकमा नेता लेखकले विशेष महाधिवेशन पक्षसँग भएको वार्ताबारे जानकारी दिएका थिए। उनी दुई दिनदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा उनीहरूले बनाएको वार्ता टोलीसँग छलफलमा थिए।
विवादमा समाधानका लागि गरिएको छलफलबारे जानकारी दिँदै लेखकले भने, ‘विधान र पार्टी निर्णय विपरीत विशेष महाधिवेशन गर्दा पनि विभाजन रोक्न हामीले धेरै प्रयास गर्यौँ, लचकता अपनाउँदा पनि अहिलेसम्म समाधान हुन सकेको छैन। छलफलले सफलता पाउन सकेको छैन।’
यसअघि १५औँ महाधिवेशनको कार्यतालिका ल्याउँदा पनि दुवै महामन्त्रीसँग छलफल गरिएको लेखकको भनाइ थियो। ‘नियमित महाधिवेशनको कार्यतालिका ल्याएपछि विशेष महाधिवेशन आफै निष्प्रभावी हुन्छ भनेर महामन्त्रीहरूले नै भन्नू भएको थियो। नियमित महाधिवेशनका लागि प्रयास गरौँ, भएन भने पनि ठीकै छ। निर्वाचनपछि गरौँला भन्नुभयो,’ उनले भने।
कांग्रेसले नियमित महाधिवेशनको कार्यतालिका ल्याएपछि दुवै महामन्त्रीले विशेष महाधिवेशनका लागि अगाडि बढेको लेखकको भनाइ थियो। ‘पुस १७ मा आएर फेरि विशेष महाधिवेशन गर्ने भनेर अगाडि बढन्नुभयो। पार्टीले निर्णय गरेर विशेष महाधिवेशनको औचित्य समाप्त भएको निर्णय गर्दा पनि उहाँहरू अगाडि बढ्नुभयो,’ उनले भने।
यति गर्दा पनि विभाजन रोक्न प्रयास गरिएको लेखकले बताए। तर, धेरै लचक हुँदा पनि सहमति जुट्न नसकेको उनको भनाइ थियो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ।
Shares

प्रतिक्रिया