नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच बुधबार बिहान भएको वार्ता बिनानिष्कर्ष सकिएको छ।
बुधबार बिहान देउवा निवास महाराजगन्जमा एक घण्टासम्म चलेको वार्तामा सहमति हुन नसकेपछि दुवै महामन्त्री वार्तास्थलबाट बाहिरिएका छन्।
कांग्रेस प्रवक्ता प्रकाशरण महतले सभापति देउवा निर्वाचनमा टिकट वितरणका लागि हस्ताक्षर अरूलाई हस्तान्तरण गर्नसम्म तयार भएको तर महामन्त्रीद्वयले सभापति पद नै छाड्नुपर्ने जिकिर गरेपछि कुरा नमिलेको नेपालखबरलाई बताए।
'माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा मेरै हस्ताक्षरमा पार्टीका साथीहरूले उम्मेदवारी दर्ता गर्नुभएको छ। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फको बन्दसूचीमा सभापतिको हैसियतमा मैले नै हस्ताक्षर गरेको छु, देउवाको भनाइ उद्धृत गर्दै उनले भने, 'अब प्रत्यक्षतर्फको निर्वाचनमा अर्कै साथीलाई हस्ताक्षर गर्ने अधिकार दिन तयार छु तर त्यो पनि पहिला कानुनी कानुनी रूपमा निर्क्योल गरौँ।'
छलफलका क्रममा देउवाले आगामी वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्ने नै भएकाले अहिल्यै सभापति नछाड्ने अडान लिएका थिए। तर महामन्त्रीद्वय थापा र शर्माले अहिल्यै नेतृत्व छाड्न जिकिर गरेका थिए। यसमा कुरा नमिलेपछि दुवै देउवा निवासबाट बाहिरिएका हुन्।
केन्द्रीय कार्यसम्पादन समितिको बहुमतले पार्टीको पन्धौँ महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरे पनि नमानेर महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आयोजना गरेपछि कांग्रेसमा विवाद भइरहेको छ।
पुस २७ देखि काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन २९ गतेदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको छ।
Shares

प्रतिक्रिया