पार्टीको विशेष महाधिवेशन उद्घाटनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले-लक्षित कटाक्ष गरेपछि यसका महासचिव शंकर पोखरेलले जवाफ फर्काएका छन्।
काठमाडौँको भृकुटीमण्डपमा आइतबार विशेष महाधिवेशन उद्घाटन समारोहमा महामन्त्री थापाले नेपाली कांग्रेस ‘कुनै बाले नबोल भन्दा नबोल्ने दास र लासहरूको पार्टी होइन’ भनेका थिए।
त्यसमा आपत्ति जनाउँदै एमाले महासचिव पोखरेलले सोमबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।
उनले लेखेका छन्, हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’जस्ता लाग्न सक्छन्। तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्।
यस्तो छ पोखरेलको पूरा स्टाटस
यसरी पनि सोच्न सकिन्छ-
भूराजनीतिक स्वार्थका सामु लम्सार पर्नु दासता हो; त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो।
विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता हो; त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो।
संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जनजनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र?
हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’जस्ता लाग्न सक्छन्। तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्।
ती स्पार्टाकस- जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशीला निर्माण गर्नेछन्।
Shares

प्रतिक्रिया