नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबारे नेकपा एमालेका नेताहरूले प्रतिक्रिया जनाएका छन्।
एमाले उपमहासचिव योगेश भट्टराईले त विशेष महाधिवेशनका नेतृत्वकर्ता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको खुलेर प्रशंसा गरेका छन्।
उनले आफूहरूले पनि एमालेभित्र परिवर्तनको आवाज उठाएको र केही मात्र गर्न सकेको तर कांग्रेसभित्र रूपान्तरणको बहस गर्ने नेताहरूले आफूहरूले भन्दा धेरै गरेको बताएका हुन्।
एघारौँ महाधिवेशनमा केपी ओलीले एमालेको नेतृत्व छाड्नुपर्ने मतसहित त्यसको अगुवाइ गरेका योगेश उपमहासचिवमा विजयी बनेका थिए।
सामाजिक सञ्जालमा उनी लेख्छन्, 'हामीले बोल्यौँ, केही गर्यौँ, तपाईंहरूले बोल्नुभयो, हामीभन्दा धेरै गर्नुभयो
सलाम मित्रहरू!'
उनकै लाइन समात्दै एमालेका अर्का नेता उषाकिरण तिम्सेनाले भनेकी छन्, 'आफ्नो काँधमा आएको युगीन राजनीतिक दायित्व सफलतापूर्वक पूरा गरेकोमा नेपाली कांग्रेसका युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत परिवर्तनका पक्षधर सम्पूर्ण कांग्रेसजनलाई हार्दिक शुभकामना।'
एमालेकै केन्द्रीय सदस्य विष्णु रिजालले भने फरक मत राखेका छन्।
उनले एमालेले समयमै महाधिवेशन गरेर विधिसम्मत नेतृत्व चुनेको तर कांग्रेस अनिर्णयको बन्दी हुँदा झगडा सडकमा पोखिएको आशय व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा उनी लेख्छन्, 'भदौ २३-२४ पछि दल र नेतृत्वका बारेमा प्रश्न उठेका थिए। एमालेले केन्द्रीय कमिटी बैठकमा व्यापक छलफल गरेर सर्वसम्मत निर्णयका आधारमा ५७ दिनभित्र महाधिवेशन आयोजना गरेर प्रश्नहरूको विधिसम्मत समाधान निकाल्यो। कांग्रेसले चाहिँ प्रश्नहरूमाथि छलफल नै गरेन र महाधिवेशन गर्ने कि नगर्ने भनेर ४९ दिन बितायो। आज त्यसैको परिणाम सार्वजनिक रूपमा छताछुल्ल भएको छ। लोकतन्त्रमा दल र नेतामाथि प्रश्न उठ्छन्। तिनलाई पन्छाउने होइन। विधिसम्मत निकास खोज्नुपर्छ।'
Shares

प्रतिक्रिया