नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भइरहेको दाबी गरेका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पछिल्लो समय कांग्रेसले प्रक्रिया र विधानलाई बेवास्ता गर्दै आएको आरोप लगाए। संख्याको दम्भ देखाउँदै केही नेताहरूले महामन्त्रीहरूविरुद्ध प्रहार गरिरहेको र सबै मिलेर कर्नर गर्ने प्रयास भइरहेको उनको भनाइ छ।
थापाले भने, ‘नेपाली कांग्रेस पार्टीभित्र पछिल्लो समयमा प्रक्रिया र विधान निल्दै जाने क्रममा म र अर्को अर्को महामन्त्री (विश्वप्रकाश शर्मा) दुई जनालाई पार्टीको महामन्त्रीको रुपमा आफ्नो भूमिका निर्वाह गरिरहँदै गर्दा यसलाई कर्नर गर्ने, घेराबन्दी गर्ने, यसका विरुद्ध सबै मिल्ने काम भएको छ।’
उनले पार्टी कार्यालयको घेराबन्दी सानो भए पनि आम कार्यकर्ता, समर्थक र शुभेच्छुकको घेरा ठूलो भएकाले अन्ततः आम नागरिकले नै त्यसको छिनोफानो गर्ने जिकिर गरे।
‘मैले नेताहरुलाई भनेको छु, यहाँभित्र सबै मिलेर मलाई र विश्वप्रकाश शर्मालाई जति घेराबन्दी गरे पनि यहाँको घेरा सानो छ तर पार्टीको घेरा ठूलो छ, समर्थक, शुभेच्छुकको घेरा ठूलो छ,’ थापाले भने, ‘तपाईंहरू हामीलाई पार्टीको या साँघुरो घेराबाट झन ठूलो घेरामा जान झन झन बाध्य पार्दै हुनुहुन्छ।’
संख्याको आधारमा दम्भ देखाएर महामन्त्रीहरूलाई घेराबन्दी गरिएको उनको निष्कर्ष छ।
Shares

प्रतिक्रिया