राजनीति


बालेनभन्दा कम केन्द्रीय सदस्य पाएपछि कुलमानको समूहमा विवाद, रास्वपासँग समायोजनमा ढिलाइ

सहमति नभए सानो टोली मात्र पठाउने कुलमानको तयारी
बालेनभन्दा कम केन्द्रीय सदस्य पाएपछि कुलमानको समूहमा विवाद, रास्वपासँग समायोजनमा ढिलाइ

सागर न्यौपाने
पुस २२, २०८२ मंगलबार २१:३२, काठमाडौँ

उज्यालो नेपाल पार्टीले केन्द्रीय सदस्यमा रहने नाम बुझाउन ढिलाइ गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता समायोजनको प्रक्रिया रोकिएको छ।

उनेपाले पाउने संख्या यकिन नहुँदा नाम पठाउन नसकेको नेता जीतराम वाइबाले बताए। जसकारण रास्वपाको केन्द्रीय कमिटीले पूर्णता पाउन सकेको छैन। 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग पुस २३ गते भएको सहमति अनुसार आइतबार साँझ २६ जना केन्द्रीय सदस्य रास्वपामा मनोनीत भएका छन्। तर, कुलमानको समूहबाट केन्द्रीय सदस्यको नाम पठाइएको छैन।

रास्वपामा समायोजन हुँदा उनेपाले पाउने संख्यामा कुरा नमिलेको नेता गणेश घिसिङको भनाइ छ। 

पुस १४ गते भौतिक पूर्वाधार, ऊर्जा र सहरी विकास मन्त्री कुलमान घिसिङसँग रास्वपाका सभापति रवि लामिछानेले ७ बुँदे सहमति गरेका थिए। रास्वपासँग एकता भएपछि उनेपालाई २० प्रतिशत समानुपातिक र ३० प्रतिशत प्रत्यक्ष उम्मेदवार तथा २६ जना केन्द्रीय सदस्य दिने समझदारी भएको गणेश घिसिङको दाबी छ।

सोही अनुसार समानुपातिकमा १८ जनाको नाम पठाए पनि १४ जना मात्र बन्दसूचीमा समावेश गरिएपछि नेताहरू असन्तुष्ट भएको घिसिङ बताउँछन्। त्यसमाथि, केन्द्रीय समितिमा समेत सहमति गरिएभन्दा अत्यन्त कम संख्या दिने प्रस्तावले माहोल बिगारेको उनको भनाइ छ। 

‘हामीले २६ जना केन्द्रीय सदस्य पाउनैपर्ने अडान राखेका छौँ, यसबाट पछि हट्न गाह्रो छ,’ उनले नेपालखबरसँग भने।

तर, रास्वपाका सचिवालय सदस्य विराजभक्त श्रेष्ठले उनेपालाई १८ जना केन्द्रीय सदस्य दिने समझदारी जुटिसकेको र सोही अनुसार बालेनको तर्फबाट २६ जना मनोनयन गरिएको दाबी गरे। 

यही कुराले उनेपाभित्र विवाद बढ्न थालेको छ। असन्तुष्ट नेताहरूले छुट्टै पार्टी चलाउने चेतावनी दिएका छन्। 

‘रास्वपासँग समायोजन गर्दा सम्मानजनक हुनुपर्छ भन्ने साथीहरूको भनाइ छ,’ असन्तुष्ट एक नेताले भने, ‘पहिले दिने भनिएको संख्याबाट पनि घटाउने कुरा कसरी मान्न सकिन्छ र?’

उनेपाका अर्का नेताले पनि रास्वपाबाट आएको प्रस्ताव अनुसार नै नाम तयार पार्ने काम भइरहेको सूचना पाएपछि केही नेताले असहमति जनाएको बताए। 

‘कुलमानजी उपसभापति, जीतराम वाइबा सहमहामन्त्री र राजु थापा सहप्रवक्ता गरी तीन जनालाई पदाधिकारी बनाउने र १४ जना केन्द्रीय सदस्य बनाउने भनेर रास्वपाले प्रस्ताव राखेको रहेछ,’ ती नेताले भने, ‘उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायलाई सल्लाहकार परिषद् अध्यक्ष बनाउने प्रस्ताव पनि रहेछ, जसप्रति साथीहरू खुसी हुनुहुन्न।’ 

उनेपाका नेता जीतराम वाइबा पनि संख्याकै कारण नेताहरू बिच्किने खतरा भएको बताउँछन्। त्यही भएर अन्तिम सूची बनाउन नसकेको उनको भनाइ छ। 

‘हामीले पाएको १८ हो कि, २१ हो कि २६ हो? त्यो पनि प्रस्ट भइसकेको छैन। बालेनजीसँग बराबर पाउनुपर्छ भन्ने साथीहरूको कुरा पनि छ, हामी पनि अन्योलमै छौँ,’ उनले भने।

उनेपाले झण्डै सय जनाको केन्द्रीय समिति बनाइसकेको र प्रदेश संरचना समेत बनाइसकेकोले नेता व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाइ छ। 

‘आकांक्षी धेरै हुँदा को–को जाने भन्ने निर्णय गर्न कठिनाइ भइरहेको छ,’ उनले थपे, ‘वार्ता त निरन्तर भइरहेको छ तर, निचोडमा पुगिएको छैन।’

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको चुनावको लागि आगामी माघ ६ गते उम्मेदवारी दर्ता गर्ने मिति तोकिएको छ। त्यसअघि नै सहमति नजुटे उम्मेदवार छनोटमा समस्या हुने नेताहरू बताउँछन्।

समानुपातिक सूचीमा पनि असहमति जनाउँदै नाम फिर्ता लिन उनेपाका अध्यक्ष अनुपकुमार उपाध्याय आफैँ निर्वाचन आयोग पुगेका थिए। यद्यपि, यसबारे विवाद गरेर जान नहुने पक्षमा केही नेता उभिएपछि उनी फर्किएका थिए।

अहिले फेरि केन्द्रीय समितिमा रहने संख्याले उनेपाभित्र विवाद चर्काउन थालेको छ।

कुलमानले आन्तरिक छलफल गरेर निकास निकाल्ने प्रयास गरे पनि सकिरहेका छैनन्।

‘साथीहरूलाई पद र जिम्मेवारीको मात्र कुरा होइन भनेर कन्भिन्स गर्न खोजिरहेका छौँ, सानो संख्याको नाम पठाउन समय लाग्यो,’ अर्का नेताले भने, ‘हामी रास्वपाको अन्तिम निर्णय कुरिरहेका छौँ। त्यो निर्णयपछि मात्र यताको नाम फाइनल गर्छौं।’

बुधबारसम्म सहमति नभए सीमितलाई पठाउने 
नेताहरूका अनुसार यदि उनेपाभित्र कुरा नमिलेको अवस्थामा थोरै संख्यामा नाम पठाएर रास्वपासँग एकता समायोजन थालिहाल्ने विषयमा पनि कुरा भइरहेको छ। कुलमान घिसिङलाई उपसभापति र रवि लामिछानेपछिको दोस्रो वरीयता दिइसकेकोले उनीसहित सानो संख्यामा केन्द्रीय सदस्यको नाम दिने तयारी भइरहेको अर्का नेताले बताए।

‘यदि भोलि र पर्सिसम्म टुंगिएन भने केही न केही नाम पठाउँछौँ। कुलमानको नेतृत्वमा हामी टिममा हुन्छौँ,’ ती नेताले भने, ‘जेनजी र युवा मिलाएर केही नाम पठाउन पनि सक्छौँ।’

तर, त्यसअघि रवि र कुलमानबीच कुराकानी भएर सहमति जुट्नेमा उनेपाका नेता वाइबा आशावादी छन्। 

रास्वपासँगको एकताको निर्णय कुलमान घिसिङले गरेकोले पदाधिकारी, केन्द्रीय समिति लगायत समायोजनबारे उनैले मिलाउनुपर्ने गणेश घिसिङको भनाइ छ। 

‘यसबारे रवि र कुलमानबीच छलफल गरेर टुंगो लगाउने कुरा छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad