राजनीति


प्रचण्डले भनेः प्रस्ट लेख्नुस् कसैसँग गठबन्धन हुँदैन

प्रचण्डले भनेः प्रस्ट लेख्नुस् कसैसँग गठबन्धन हुँदैन

नेपालखबर
पुस २२, २०८२ मंगलबार १९:५८, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयेजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी कसैसँग गठबन्धन नगर्ने बताएका छन्। 

आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच गठबन्धनको प्रयास भइरहेको चर्चाबीच प्रचण्डको यस्तो भनाई आएको हो। 

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी निर्वाचन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) मा कसैसँग कुनै गठबन्धन नहुने जिकीर गरे।

‘राष्ट्रिय सभा निर्वाचनमा केपी ओलीसँग गठबन्धन गर्दै हुनुहुन्छ भन्ने पनि छ नि?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘त्यस्तो गठबन्धनको कुरा केही भएको छैन।’ 

सञ्चारकर्मीले हिजो एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेको प्रशंग निकालेपछि प्रचण्डले जवाफ दिए, ‘भेटघाट गर्ने कुरा त पहिला राष्ट्रपतिकहाँ पनि भएकै थियो। प्रधानमन्त्रीकहाँ पनि भेटघाट भएकै थियो। तर, कुनै गठबन्धन भएको छैन। हुँदैन पनि।’

उनले थप जोड दिँदै भने, ‘तपाईंहरू लेख्नुस् गठबन्धन हुँदैन। प्रस्ट लेख्नुस् गठबन्धन हुँदैन।’

उनले आफू रवि–बालेन एकताबाट नडराएको पनि जिकीर गरे। आफू नेतृत्वको सरकारमा रास्वपा सभापति लामिछानेलाई दुई पटक गृहमन्त्री बनाएको उल्लेख गर्दै लामिछानेसँग कुरा गर्न कुनै आइतवार कुर्नु नपर्ने दाहालको टिप्पणी छ।

उनले भने, ‘हामी रवि–बालेनको गठबन्धबाट विल्कुल डराएका छैनौँ। रविलाई मेरै क्याबिनेटमा दुई चोटि गृहमन्त्री बनाएको हो। उहाँसँग कुरा गर्न मैले कुनै आइतबार पर्खनुपर्दैन। हामी डराएका पनि छैनौँ।’

उनले पार्टी कामको लागि भारत भ्रमणमा गएको दाबी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरुसँग अनौपचारिक छलफल भएको पनि बताए।

प्रचण्डले भने, ‘दिल्लीमा पनि एउटा एकता सभा राखिएको थियो। म मुख्यतः त्यही कामका लागि भारत भ्रमणमा गएको हो। अब त्यहाँ गइसकेपछि विभिन्न खालका भेटघाट त भइ नै हाल्छन्। हाम्रो राजदूत आउनुभयो, कयौँ भारतीय जनता पार्टी (बिजेपी)का नेताहरू आउनुभयो। स्वागत गर्नुभयो, सम्मान गर्नुभयो। तर त्यस्तो औपचारिक कुराकानी केही पनि भएको छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad