राजनीति


कोइरालाको नयाँ प्रस्ताव: विशेष महाधिवेशन पक्षधरसँग छलफल गर्नुपर्छ, प्रतिनिधिसभामा गठबन्धन गर्नु हुँदैन

कोइरालाको नयाँ प्रस्ताव: विशेष महाधिवेशन पक्षधरसँग छलफल गर्नुपर्छ, प्रतिनिधिसभामा गठबन्धन गर्नु हुँदैन

कांग्रेस नेता डा.शेखर कोइराला


नेपालखबर
पुस २२, २०८२ मंगलबार १२:३१, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले सहमतिका आधारमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

मंगलबार आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा बढी केन्द्रीय सदस्यहरूसँग भएको छलफलमा नेता कोइरालाले यस्तो धारणा राखेका हुन्।  'अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार टुंग्याउनुपर्ने चटारो छ,' कोइरालाले भने, 'त्यसैले विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुन्छ। त्यतिबेलासम्म मनोनयनका सबै प्रक्रिया सकिन्छन् र यसले पार्टीमा एकताको सन्देश पनि दिन्छ।'

केन्द्रीय सदस्यहरुसँग छलफलपछि सामूहिक तस्विर

अहिले पार्टीभित्र विशेष महाधिवेशनको माग उठिरहेका बेला कोइरालाले निर्वाचनको कार्यतालिकालाई ध्यान दिएर मध्यमार्गी बाटो रोज्नुपर्ने बताए।सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले नै विशेष महाधिवेशन डाक्नुपर्ने र आफू त्यसका लागि लागिपरेको बताए।

'गठबन्धनले कांग्रेसलाई दीर्घकालीन घाटा'

छलफलका क्रममा कोइरालाले आगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले चुनावी तालमेल गर्न नहुने स्पष्ट पारे।

'गठबन्धन गर्दा प्रत्यक्षतर्फ दुई-चार सिट बढी आउला, तर यसले समानुपातिकतर्फको मत घटाउँछ,' उनले भने, 'गठबन्धनले कांग्रेसलाई दीर्घकालीन रूपमा हानी गर्छ। त्यसैले आगामी निर्वाचनमा कांग्रेस एक्लै जानुपर्छ भन्नेमा म प्रष्ट छु।'

भेटमा सहभागी ३० जना केन्द्रीय सदस्यहरूको तर्फबाट बोल्दै पुष्पा भुसालले डा.शेखर कोइरालाले समन्वय गरेर मध्यमार्गी विकल्प खोजिनु पर्ने बताइन्।

सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनलाई 'चुनावी घोषणा सभा'का रूपमा रूपान्तरण गरेर निर्वाचनमा जानुपर्ने सुझाव दिएका थिए।

छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी लगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad