राजनीति


केपी शर्मा ओलीको स्थानहद फुकुवा

केपी शर्मा ओलीको स्थानहद फुकुवा

नेपालखबर
पुस २१, २०८२ सोमबार १४:३, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ। 

जेनजी आन्दोलन जाँचबुझ आयोगले छानबिन सुरु गरेपछि पूर्वप्रधानमन्त्री ओलीसहित तत्कालीन अधिकारीहरूलाई स्थानहद लगाएको थियो। अरु सबैको स्थानहद फुकुवा भए पनि ओलीको बाँकी थियो। 

आइतबार जाँचबुझ आयोगले ओलीसँग बयान लिएको थियो। त्यससँगै उनको स्थानहद फुकुवा गरिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए। 

जाँचबुझ आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गरेर स्थानहदको औचित्य सकिएको जनाएको छ। आयोगका प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछ लगायतका बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाइने निर्णयको समाप्त भएकाले फुकुवा गरिदिएको छ।’

आयोगले गत असोज १२ मा अनुसन्धानका लागि भनेर पूर्व प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो। त्यस्तै, आयोगको स्वीकृति विना काठमाडौँ उपत्यका छाड्न पनि नपाउने निर्णय गरेको थियो। 

गत भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले असोज १२ गते पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित उच्च अधिकारीहरूलाई स्थान हद लगाएको थियो। 

पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा पनि स्थान हदमा थपिएका थिए। कात्तिक २६ गते आईजीपीबाट अवकास भए लगत्तै चन्द्रकुवेर खापुङलाई पनि स्थान हद लगाएको थियो। 

पूर्व गृहसचिव दुवाडी, पूर्व आईजीपी खापुङ र पूर्व प्रमुख जिल्ला अधिकारी रिजालको स्थान हद फुकुवा गर्ने निर्णय पुस ७ गते भएको थियो। त्यस्तै, पूर्व गृहमन्त्री लेखककको स्थान हद पुस १७ मा फुकुवा गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad