महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्का संरचनाहरूको भाडा सम्झौता समयानुकुल बनाइने बताएकी छन्।
बुधबार परिषद्का संरचनाको अनुगमका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्। परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा संघसंस्थाहरूलाई तत्काल पत्र काट्ने पनि जानकारी दिइन्।
सरकारले कतिवटा संघसंस्थाहरूले बक्यौता दिएका छैनन् त्यसबारे सूचि तयार भइसकेको र १५ दिनभित्र पत्र काटिसक्ने बताइन्।
उनले भनिन्, ‘कति वटा बक्यौता बाँकी छ भन्नेकुरा सुनेका थियौँ। आज हामीले आँखाले देखेका छौँ। आजको समस्यालाई हेरेर जुन वक्यौता धेरै नै बढेको छ। जसले वर्षौंदेखि ओगटेर राख्नुभएको छ तर असुल भएको छैन। हामीले १० देखि १५ दिनभित्रमा बक्यौता फर्छ्यौट गरिदिन परिपत्र गर्नेछौँ।’
फाइल खोलेर राख्ने नभइ कारबाही गरेर देखाउने उनको चेतावनी छ। भाडा सम्झौता नवीकरण गर्ने समयमा समयानुकुल भाडादर निर्धारण गरिने पनि बताइन्।
मन्त्री श्रेष्ठले भनिन्, ‘हामी काम गर्ने सोचमा छौँ, फाइल खोलेर बन्द गर्ने सोचमा छैनौँ। त्यसअनुसार नै प्रयास गर्छु। जसको वक्यौता बाँकी छ, लिस्ट तयार गरिसकेका छौँ। सुरुवात व्यापारिक प्रयोजनबाट सुरु गर्नेछौँ। एमओयू नयाँ गर्ने क्रममा मूल्य निर्धारण गरेर पनि अघि बढ्नेछौँ।’
मन्त्री श्रेष्ठले व्यापारिक प्रयोजनका लागि भाडा लिएकाहरुबाट वक्यौता उठाउन शुरु गर्ने पनि बताए।
Shares

प्रतिक्रिया