राजनीति


मधेसमा सरकार बनेको १ महिना बित्न लाग्दा मन्त्रिमण्डल अपूरै, मुख्यमन्त्री यादव काठमाडौँमै व्यस्त

मधेसमा सरकार बनेको १ महिना बित्न लाग्दा मन्त्रिमण्डल अपूरै, मुख्यमन्त्री यादव काठमाडौँमै व्यस्त

फाइल तस्बिर


नेपालखबर
पुस १५, २०८२ मंगलबार १४:१६, काठमाडौँ

मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन। 

मुख्यमन्त्री नियुक्त हुँदा यादवले चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए। तर, हालसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा मधेसमा सरकारको घोषणा एकातिर काम अर्कोतिर जस्तो अवस्था सिर्जना भएको छ। 

छ दलको समर्थनमा गत मङ्सिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका यादवले पुस ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। विश्वासको मत पाएको १० दिनभन्दा बढी भइसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन नसक्दा सरकारको कार्यक्षमता र स्थायित्व प्रभावित बनेको जानकारहरू बताउँछन्। 

प्रदेशमा ११ वटा मन्त्रालय छन्। हालसम्म यहाँ पाँच जनामात्र मन्त्री नियुक्त भएका छन् । बाँकी छ मन्त्रालय मन्त्रीविहीन रहँदा प्रशासनिक निर्णय, नीति कार्यान्वयन तथा सेवा प्रवाहमा प्रत्यक्ष असर पर्न थालेको छ। 

जसपा नेपाल, जनमत पार्टी, नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी पार्टीको समर्थनमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन्। 

अहिलेसम्म लोसपाले शिक्षा तथा संस्कृति मन्त्रालय, जनमत पार्टीले अर्थ मन्त्रालय, नेपाली कांग्रेसले स्वास्थ्य मन्त्रालय, माओवादी केन्द्रले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय तथा एकीकृत समाजवादीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको नेतृत्व पाएका छन्। 

सरकार गठनमा सहभागी भएका सात दलबीच भएको भागबण्डाअनुसार जनता समाजवादी पार्टी (जसपा) ले सभामुख पद प्राप्त गरेको छ। 

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले मन्त्रिमण्डललाई पूर्णता दिन अझै केही दिन लाग्ने बताए। 

दलहरूभित्र आन्तरिक छलफल, मन्त्री छनोट तथा आवश्यक प्रक्रियाका कारण समय लागेको उनको भनाई छ। ‘सरकार विस्तार ढिलो भएको जस्तो देखिए पनि दलहरूभित्र आवश्यक छलफल भइरहेको छ। केही दिनभित्र मन्त्रिमण्डल पूर्णता पाउँछ,’ उनले भने। 

एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल अपूर्ण रहँदा प्रदेश सरकार कमजोर देखिएको टिप्पणी गरे। 

‘अब सरकारले ढिलाइ गर्नुहुँदैन। तुरुन्त मन्त्रिमण्डललाई पूर्णता दिएर काममा अघि बढ्नुपर्छ’, उनले भने, ‘मन्त्रिमण्डल अपूर्ण रहनु सरकारको कमजोरी हो, यसले जनतालाई सेवा प्रवाहमा समस्या पुर्‍याउन सक्छ।’

माओवादीका नेता युवराज भट्टराईले मन्त्रालय बाँडफाँटको विषय टुङ्गिसकेकाले मुख्यमन्त्री काठमाडौँबाट फर्किनासाथ सरकार विस्तार हुने दाबी गरे। 

मुख्यमन्त्री यादव हाल आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा व्यस्त छन्। त्यसको लागि उनी केही दिनदेखि काठमाडौँमै छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad