राजनीति


कांग्रेसले कारबाही मिनाहा गरेका नेताको पद जाने, क्रियाशील सदस्य मात्रै रहने

कांग्रेसले कारबाही मिनाहा गरेका नेताको पद जाने, क्रियाशील सदस्य मात्रै रहने

यसअघि कारबाहीमा परेका कांग्रेस नेताद्वय विष्णुकुमार राई र र विकास खनाल।


नेपालखबर
पुस १३, २०८२ आइतबार १६:२२, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासन समितिले कारबाही गरेकाहरूलाई शनिबार माफी मिनाहा गर्ने निर्णय गर्‍यो। यो निर्णयसँगै २०७९ सालको निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, प्रस्तावक र समर्थक समेतले कारबाही माफी मिनाहा पाएका छन्।

उनीहरूलाई माफी दिने निर्णय कार्यान्वयन गर्न आइतबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले पत्राचार गरेका छन्। तर पत्र अनुसार माफी पाएकाहरू साविककै पदमा भने फर्किन नपाउने भएका छन्। 

परिपत्रमा भनिएको छ, ‘यसरी कारबाही माफी/मिनाहा भएका व्यक्तिहरूको पार्टीको वहाल पद नरहने गरी क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय यो बैठक गर्दछ।’

यसअघि केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कतिपयलाई निष्काशन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी मिनाहा गर्ने निर्णय गरेको थियो। यो निर्णय अनुसार यसअघि कार्यरत पदमै भने फर्किन नपाउने भएका छन्। 

अब उनीहरू क्रियाशील सदस्यका रुपमा मात्रै फर्किन पाउनेछन्। कारबाही गरिएका नेतामा लुम्बिनी प्रदेशका महामन्त्री विकास खनाल, खोटाङका सभापति विष्णुकुमार राई, तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, पूर्वमन्त्री एवं महासमिति सदस्य कुमार खड्का र पर्साको क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई एक वर्षका लागि निष्कासनको निर्णय गरेको थियो। अब उनीहरू यसअघिकै पदमा क्रियाशील रहन पाउने छैनन्। 

यस्तै धनुषाको लक्ष्मीनिया गाउँपालिकाका सभापति आनन्द यादव, धनुषाको सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नं. १ का रामवावु यादव, मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव, कास्की क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलालीको धनगढी उपमहानगरपालिका २ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह, कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगरपालिका १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका ५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी र धनगढी उपमहानगरपालिका १ का क्रियाशील सदस्य सुभाष चन्द ६ महिनाका लागि निष्काशनमा परेका थिए। 

कांग्रेसका कास्की जिल्ला सभापति कृष्ण केसी ३ महिनाका लागि निष्काशनमा परेका थिए। कांग्रेसले महाधिवेसनको तयारी गरिरहेकाले अबको चुनाव लड्न भने उनीहरूलाई कुनै रोक लगाएको छैन। गत असारमा आनन्दप्रसाद ढुंगाना संयोजक रहेको ५ सदस्यीय अनुशासन समितिले कारबाहीको निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad