काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह धेरै बोल्दैनन्। बोल्नै पर्दा फेसबुकबाटै आफ्ना धारणा सार्वजनिक गर्छन्।
तर, उनीभन्दा ठीक फरक स्वभावका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने। लगातार ७२ घण्टासम्म अन्तर्वार्ता लिएर गिनिज बुकमा कुनैबेला नाम लेखाएका व्यक्ति हुन् उनी।
यता, र्यापर, स्ट्रक्चरल इन्जिनियर हुँदै काठमाडौँ महानगरको मेयर जितेपछि बालेन नेपाली राजनीतिमा उदाएका व्यक्ति हुन्।
२०७९ असार ७ गते रास्वपा खोलेर राजनीतिमा होमिएका रविले सोही वर्षको मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा आफूले मात्र जितेनन्, २० जनालाई नयाँ सांसद बनाउन सफल भए।
फरकफरक स्वभाव र पृष्ठभूमिका बालेन र रवि अहिले नेपाली राजनीतिको केन्द्रमा छन्। यी दुवैको राजनीतिक गन्तव्य कहाँसम्म हो, प्रस्ट छैन।
तर, भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंसले कांग्रेस–एमालेको सत्ता ढालेपछि बालेन्द्र राजनीतिको केन्द्रमा देखिए। उनलाई प्रधानमन्त्री बन्न केही जेनजीले आग्रह गरे।
उनी तयार भएनन्। बरु सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन फेसबुकमार्फत् समर्थन जनाए।
जेनजीकै माग अनुसार नयाँ जनादेश लिन कार्की सरकारले फागुन २१ गते चुनाव गर्ने म्यान्डेट पायो। त्यही चुनावको तयारीमा सरकार जुटिरहेको छ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा २०८१ कात्तिक २ गते पक्राउ परेका रवि १४ महिनापछि पुस ४ गते पौने चार करोड धरौटी बुझाएर नख्खु कारागारबाट थुनामुक्त भए। ठीक यही समय पारेर बालेन र रविलाई एकैठाउँमा ल्याउने प्रयास पनि अघि बढेको छ।
सोमबार विघटित प्रतिनिधि सभामा रास्वपाका सांसद असीम शाहको कमलपोखरीमा रहेको घरमा यी दुई जनाले एक्लाएक्लै लामो भेट गरेका छन्।
भेटवार्ताको प्रबन्ध मिलाउने मध्येका एक जनाले नेपालखबरलाई जानकारी दिएअनुसार बालेन साँझ ६ बजेर ४० मिनेटमा शाहको निवासमा पुगेका थिए। ७ बजेर ५ मिनेटतिर रवि पनि त्यहाँ पुगे। उनीहरू एकैपटक राति १ बजेर ३० मिनेटमा सो घरबाट बाहिर निस्किए।
सवा ६ घण्टा उनीहरूबीच के कस्ता कुरा भए त?
सुरुमा बालेन, रविसहित असीम शाह, निश्चल बस्नेत, कुमार बेन, डोलप्रसाद अर्यालहरूबीच परिचयको कार्यक्रम भयो। अनि, सामूहिक छलफल भए। हाँसो मजाक भए।
सहभागीहरूका अनुसार रात्री खाना खाएपछि गम्भीर छलफल सुरु भएको थियो।
त्यसपछि अधिकांश समय बालेन–रविले एक्लाएक्लै कुराकानी गरेको सहभागी एक नेताले नेपालखबरलाई जानकारी दिए।
‘बालेन र रविजीबीच भेट भएको थिएन,’ उनले भने, ‘दुई जना फरक व्यक्ति हो। यी दुवै जना मिलाउन सकियो भने मात्र धेरै काम गर्न सकिन्छ भन्ने थियो। त्यही अनुसार डेढ महिनादेखि पहल गरियो।’
बालेन र रविबीच मन मिलाउन सफल भएको अर्का नेताले दाबी गरे।
‘मन मिलेपछि अरु जे पनि गर्न सकिन्छ भन्ने थियो, सोचेकै जस्तो भयो। उहाँहरूबीच आफन्त, नातागोता सबै सोधखोज भएर अन्तरंग कुराकानी भयो,’ वार्ता लम्बिनुको कारण खुलाउँदै उनले भने, ‘एकले अर्काेलाई बुझ्ने मौका पाउनुभयो। एकले अर्काको मन जित्नुभयो। मन जितेपछि जे पनि हुन्छ।’
बालेनको फरमाइसमा रविको गीत
सुरुमा ६–७ जना बसेर छलफल गरेपछि बालेन र रविलाई छुट्टै बस्ने व्यवस्था मिलाइएको थियो। फरक स्वभाव र फरक कित्तामा रहेका दुई जनाको मन माझ्न त्यसो गरिएको दुवैका विश्वासपात्रहरू बताउँछन्।
‘मिलेर जान सक्छन् कि सक्दैनन् भनेर वान टु वान नै बस्नुस्, एकअर्कासँग कुराकानी गर्नुस्, भलाकुसारी गर्नुस् भनेर हामी अलग्गै बस्यौँ,’ सहभागी एक नेताले भने, ‘संगीतका कुरा, देशका कुरा, मुडका कुरा, भावनाका कुरा, सबै चेक गर्नुपर्यो नि। दुई जनाको कम्प्याटिबिलिटी चेक गर्यौँ।’
र, त्यो योजनामा आफूहरू सफल भएको उनीहरूको दाबी छ।
‘बालेन कसैलाई पनि आधा घण्टा भेट्न सक्तैनन्, रवि पनि धेरै बेर बस्न सक्तैनन् भनिन्थ्यो। हिजोको भेटबाट होइन भन्ने भयो, नरोकेको भए बिहान ५ बजाउने थिए, साढे १ भएपछि पठाइदियौँ,’ रविका विश्वासपात्र नेताले भने।
छलफलको बीचमा गानाबजानाको कार्यक्रम राखियो। यही बेला रविले बालेनको मन जित्ने उपाय लगाए।
‘मेयर साबको फरमाइसमा भन्दै रविले बालेनसँग सुरमा सुर मिलाउँदै गीत गाउनुभयो,’ बालेनका विश्वासपात्रले भने, ‘जहाँ छन् बुद्धका आँखा लगायतका गीत आधा घण्टाजति दुई जनाले सँगसँगै गाउनुभयो।’
बालेन–रवि गीत गाउन थालेपछि आफूहरूले गितार बजाएको अर्का सहभागीको भनाइ छ।
‘एकदम हार्दिकता भयो। किनभने, सिंगर मान्छे, मेलोडियस मान्छे, क्रियटिभ मान्छेको जमघटमा यस्तै हुने हो,’ उनले भने।
दुई जनाले एक्लाएक्लै भेटमा के समझदारी गरे, त्यो नखुले पनि भेट मात्रले नै आइसब्रेक भएको उनीहरू बताउँछन्।
उसो त जेनजी आन्दोलनपछि नै नयाँ राजनीतिक शक्तिहरूलाई एक ठाउँमा उभिन दबाब पर्दै आएको छ। खासगरी बालेनलाई नयाँ दल खोल्ने दबाब थियो। तर, महानगर हाँकिरहेका उनी तयार भएनन्। बरु उनको भेटघाट कुलमान घिसिङसँग बाक्लिन थाल्यो। जुनबेला कुलमान नयाँ दल गठनको गृहकार्यमा थिए।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएर राम्रो काम गरेका कुलमानले खोल्ने नयाँ पार्टीप्रति केही जेनजी जोडिन थालिसकेका थिए।
यो सूचना पाएका बालेनले सुरुमा कुलमानलाई नै रास्वपामा लैजाने योजनासहित आफ्ना विश्वासपात्र कुमार बेनलाई संवादमा खटाए।
कुमार र निश्चल बस्नेत लगायतले कुलमान, उनको टिम र रविसँग पनि भेट गर्यो। कुमारले नख्खु कारागार पुगेर रविसँग भेट्दै कुलमानलाई रास्वपामा ल्याउनुपर्ने र सभापति दिनुपर्ने प्रस्ताव राखे। रविको मुद्दा किनारा नलागेसम्म कुलमानलाई पार्टीको नेतृत्व दिएर चुनावमा जान उनीहरूले आग्रह गरे। तर, रवि तयार भएनन्।
चरणचरणमा भएको छलफलमा कुलमान पक्ष लचक भयो। कार्यवाहक उपभापति माग राख्यो, त्यसमा पनि कुरा मिलेन।
यता, कुलमानले गठन गरेको दललाई आफ्नो समर्थन रहने बालेनले जनाऊ दिइसकेका थिए। बालेनसँग पटकपटक छलफल भएर समझदारी बनेपछि निचोडमा पुगे पनि कार्की नेतृत्वको सरकारमा मन्त्री रहेकाले कुलमान आफैँ देखिएनन्। उनकै अगुवाइमा उज्यालो नेपाल पार्टी (उनेपा) गठन गराए।
पछिल्ला दिन चर्चामा रहेका बालेन–कुलमान एकैठाउँमा हुन लागेको सूचना नख्खु कारागारमा रहेका रविले पनि पाए। एकपटक बालेनसँग कुराकानीको व्यवस्था मिलाउन रविले विभिन्न च्यानलमार्फत् सन्देश पठाए। कुनै न कुनै उपाय लगाएर भेट गर्ने प्रयास भइरहेको थियो।
पुस ४ गते जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्न आदेश दियो। त्यसपछि रविले चाहेजस्तै भयो।
‘जेनजी आन्दोलनपछि रवि र बालेन मिलाउन एकडेढ महिनादेखि प्रयास भएको थियो, त्यसैको आइसब्रेक हिजो भएको हो,’ रास्वपाका एक नेताले भने।
बालेनका स्वकीय सचिव भूपदेव शाहले भने आइतबार र सोमबार बालेन र रविबीच दुईपटक छलफल भएको बताए।
हामी नेपाल अभियानका संयोजक सुदन गुरुङले सोमबार बिहान रविसँग भेट गरेपछि रवि–बालेन भेट तय भएको हो।
बालेनलाई प्रधानमन्त्री अफर
छलफलमा सहभागीहरूका अनुसार रवि–बालेनबीच विभिन्न मोडलमा कुरा भएको छ।
‘प्रधानमन्त्रीमा बालेनलाई अगाडि सारेर चुनावमा जाने दिशातिर कोर्स अघि बढेको छ,’ रास्वपाका एक नेताले नेपालखबरसँग भने, ‘यो प्रस्ताव बालेनको होइन, रविकै प्रस्ताव हो। भेटघाटको गुदी पनि त्यही हो। प्रधानमन्त्रीका रुपमा बालेनलाई अगाडि बढाउने हो।’
सोमबार पनि रविले यो कुरा राखेको हुनसक्ने ती नेताले बताए। तर, यसमा बालेनले कुनै जवाफ दिइनसकेको उनको भनाइ छ।
‘हाम्रो सभापति तत्काल प्रधानमन्त्री बन्ने अवस्था छैन। यस्तो अवस्थामा रविपछि को त भन्दा कुलमान र बालेन नै हो। ती दुई जनामा तुलना गर्दा आज देशले चाहेको त बालेन नै हो। त्यसलाई हामी नकार्न सक्तैनौँ। त्यही अनुसार हाम्रो तयारी भइरहेको हो।’
तर, यसमा बालेन मौन छन्।
‘प्रधानमन्त्रीको प्रस्ताव आइसकेपछि उहाँले के गर्ने, जवाफ दिइसक्नुभएको छैन,’ रास्वपाका ती नेताले थपे, ‘बालेन रिजर्भ्ड टाइपको मान्छे हो। खुलेर आफ्ना कुरा भन्नुभएको छैन।’
तर बालेनका एक जना सहयोगी नेताका अनुसार रवि र बालेनबीच ‘पावर सेयरिङ’ को विषयमा छलफल भए पनि कुरा मिलेको छैन।
बालेन निकट ती नेताका अनुसार त एउटै पार्टी बनाउने कुरा हुँदा बालेनले नै रविसँग ‘पावर सेयरिङ’ गर्नु पर्ने प्रस्ताव राखेका थिए। छलफलमा बालेनले पार्टी सभापति वा प्रस्तावित प्रधानमन्त्रीमध्ये एकएक पद बाँड्न प्रस्ताव गरे। तर रविले प्रस्ट जवाफ दिएनन्।
‘रविले एउटा साधारण सदस्य जसरी रास्वपामा प्रवेश गर्नुस्, बाँकी म मिलाउँछु भन्ने जस्तो प्रस्ताव राखेछन्,’ बालेन निकट ती नेताको भनाइ छ, ‘पावर सेयरिङ गर्ने कुरै छैन, सबै म गर्छु भने जस्तो गरी प्रस्तुत भएपछि कसरी मिल्छ?’
मिलेको देखाउने रिहर्सल
असीम शाहको घरबाट निस्किएका बालेन र रवि रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले चलाएको गाडीको एउटै सिटमा बसे। जबकि, बालेनको गाडी त्यहीँ थियो। रविको पनि छुट्टै गाडी थियो।
रोचक त, झण्डै एक किलोमिटर मात्र उनीहरूले एउटै सिटमा बसेर यात्रा गरेका हुन्। राजनीतिक सन्देश जाओस् भनेरै यसो गरिएको यसका योजनाकार रास्वपाका नेताहरू बताउँछन्।
‘मेयर साबको गाडी नारायणचौरमा राखेका थियौँ,’ ती नेताले भने, ‘कमलपोखरीबाट नारायणचौरसम्म सँगै गएर आफ्नाआफ्ना गाडीमा बाटो लाग्नुभयो। एउटै गाडीमा जाऊँ, सन्देश दिऊँ भनेर हो।’
यसैलाई रास्वपाका नेता असीम शाहले सुखद सुरुवात भनेका छन्।
‘यसको अन्त्य कहिले हुन्छ भन्न सक्दिनँ। यो सुखद सुरुवात हो, यो राम्रैसँग अगाडि बढ्ने अपेक्षा गरौँ,’ उनले भने।
Shares

प्रतिक्रिया