महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टीबीच एकीकरण हुने भएको छ।
तीनै दलका अध्यक्ष ठाकुर, त्रिपाठी र लालले संयुक्त विज्ञप्ति प्रकाशित गरी एकीकरण गर्ने सहमति गरिएको जनाएका छन्।
तीन दलले भ्रष्टाचार अन्त्य गर्दै विधिको पूर्ण सुशासनका लागि आम निर्वाचन एकमात्र विकल्प भएको निष्कर्ष निकालेका छन्। समान अधिकार, समानुपातिक समावेशिता र विविधताको सम्मान सुनिश्चित गर्दै एकीकृत हुने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
‘समान अधिकार, राज्यका हरेक अंगमा समानुपातिक समावेशिता, विविधताको सम्मानको सुनिश्चितता नै भएको तथा सो दिशामा अगाडि बढ्न संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धत सिमान्तिकरणमा पारिएकाहरूको वृहत् राजनीतिक शक्तिको निर्माण र एकता आवश्यक भएको मनन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी एकजुट भई एकीकृत हुने निर्णय गरेका छौं,’ एकता सहमतिपछि जारी विज्ञप्तिमा भनिएको छ।
साथै मधेश, थरुहट, आदिवाशी जनजाति, दलित, मुस्लिम लगायत सिमान्तिकरणमा पारिएकाहरूको प्रतिनिधित्व गर्ने सबै राजनीतिक शक्ति र व्यक्तिहरूलाई गोलबद्ध हुन समेत आह्वान गरिएको छ।

Shares

प्रतिक्रिया