राजनीति


ओलीपछि प्रचण्ड पनि देउवासँग संवादमा, राष्ट्रिय सभा चुनाव र प्रदेश सरकारमा गठबन्धन कसरत

ओलीपछि प्रचण्ड पनि देउवासँग संवादमा, राष्ट्रिय सभा चुनाव र प्रदेश सरकारमा गठबन्धन कसरत

सागर न्यौपाने
मंसिर २४, २०८२ बुधबार ७:२९, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीले नेपाली कांग्रेससँग राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्ने प्रयास सुरु गरेको छ। 

नेकपा एमालेलाई बाहिर राखेर मधेस प्रदेशमा मंसिर १९ गते कांग्रेस नेतृत्वको सरकार गठन भएपछि सहकार्यको सुरुवात भइसकेको नेकपाका नेताहरू बताउँछन्। मधेसमा कृष्ण यादव नेतृत्वको सरकारलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन्।

मधेसबाट अघि बढेको सहकार्य अन्य प्रदेशमा विस्तार गराउन अब छलफल हुने नेकपाका नेता राजेन्द्र पाण्डेले जानकारी दिए। यद्यपि, मधेसमा जस्तै सहकार्यको वातावरण बन्नुपर्ने उनको भनाइ छ।

‘बदनाम एमालेसँग नहिँड भनेर मधेसमा समर्थन गरेको हो,’ पाण्डेले नेपालखबरसँग भने, ‘एमालेले गलत बाटोमा डोर्‍याउन खोजेकोले त्यसलाई रोक्नैपर्ने छ।’

अरु प्रदेशमा पनि कांग्रेससँग मिलेर जान सकिने उनको भनाइ छ।

‘तुरुन्तै कांग्रेसले पनि सोच्नुपर्‍यो, कोसँग सहकार्य गर्दा यो राष्ट्रहितमा हुन्छ, संविधानको रक्षा हुन्छ? मिल्नको लागि उसैले वातावरण बनाउनुपर्‍यो, जसरी मधेसमा बनाएको थियो,’ पाण्डेले थपे, ‘तीन प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार भएकोले बाँकी चार वटामा मिलाउन समस्या छैन।’ 

२०८१ असार १७ गते कांग्रेस र एमाले गठबन्धन बनेको थियो। तर, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले गठबन्धन सरकारलाई सत्ताच्युत गरिदिएको थियो।

अब कांग्रेस नयाँ विकल्पमा अघि बढेको नेकपाका नेता हरिबोल गजुरेल दाबी गर्छन्। 

‘मधेसमा हाम्रोे सरकार बनेसँगै एमाले र कांग्रेस गठबन्धन भत्किएको छ। यसले हामीसँग सहकार्यको ढोका खोल्यो,’ उनले भने, ‘अन्य प्रदेशका विषयमा पनि कांग्रेससँग विभिन्न रुपमा भित्री छलफल भइराखेको छ।’

मधेसमा एमाले नेतृत्वको सरकार विस्थापित गरी कांग्रेस, नेकपा र मधेसी दलहरूको गठबन्धन सरकार बनेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका थिए। उनले प्रदेश सरकारमा रहेको एमाले र कांग्रेस गठबन्धनको निरन्तरता, राष्ट्रिय सभाको चुनावमा सहकार्य लगायतका प्रस्ताव देउवासमक्ष राखेका थिए।

तर, देउवाले प्रस्ट जवाफ दिइसकेका छैनन्।

यता, नेकपा भने कांग्रेसलाई आफूतिर तान्ने कोसिस गरिरहेको छ। प्रदेशहरूमा कांग्रेस–एमाले गठबन्धन भत्काएर कांग्रेस–नेकपासहितको गठबन्धन सरकार बनाउने मात्र होइन, राष्ट्रिय सभाको चुनावमा पनि कांग्रेस–नेकपा सहकार्य हुनसक्ने सम्भावनालाई नकार्न नसकिने नेकपाका नेताहरूको भनाइ छ।

यद्यपि प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा कांग्रेस र नेकपा विपरित धारमा उभिएका छन्। कांग्रेस एमालेसँगै पुनःस्थापनाको मुद्दा लिएर सर्वोच्च अदालत गएको छ भने नेकपा फागुन २१ गते नै चुनाव हुनु पर्ने पक्षमा छ। अहिलेको यो मुख्य मुद्दामा समान धारणा नहुँदा राष्ट्रिय सभाको चुनावमा कांग्रेस–नेकपा गठबन्धन गर्ने र प्रदेशहरूमा पनि त्यही अनुसार गठबन्धन सरकार बनाउने नेकपाको प्रयास सार्थक हुन कठिन छ। 

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राष्ट्रिय सभा चुनावमा कुनै न कुनै दलसँग सहकार्य हुने बताए। 

‘तालमेल नगरी कसैले जित्दैन, कांग्रेस र माओवादी केन्द्र–एकीकृत समाजवादीबीच पनि हुनसक्ने सम्भावना छ, प्रदेश सरकारतिर पनि त्यही हो,’ विश्वकर्माले भने, ‘राष्ट्रिय राजनीति, संविधान र व्यवस्थाको संरक्षण गर्नको लागि हामी सबै दलहरूसँग सहकार्य गर्न तयार छौँ। त्यसका लागि समय छ, अहिले नै टुंगो लाग्या छैन।’

प्रदेशहरुमा पनि अन्य दलसँग सहकार्य हुने उनको भनाइ छ।

‘अहिले एमालेसँग गठबन्धन गर्दा अन्य राजनीतिक अर्थ लाग्ने भएकोले मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाइएको हो, त्यसमा एमालेको पनि सद्भाव छ,’ उनले भने, ‘अहिले गठबन्धन टुटेको भन्ने होइन।’

राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट १९ जनाको पदावधि समाप्त हुँदैछ। जसमा माओवादीका ७ र एकीकृत समाजवादीका २ जना गरी यो पार्टीका नौ जना छन्।

प्रदेश सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखले मत दिने भएकोले कांग्रेससँग मिलेर जान सके रिक्त हुने सबै पद जित्न सकिने नेकपाका नेता पाण्डे बताउँछन्।

‘राष्ट्रिय सभाको चुनाव आउँदैछ। प्रस्ट कुरा छ, हामी एक्लै जित्दैनौँ। कांग्रेससँग मिल्यौँ भने सबै सिट जित्न सक्छौँ,’ उनले भने, ‘एमालेसँग मिल्दा सबै जित्ने सम्भावना छैन।’

यद्यपि, यसबारे शीर्ष नेताले कांग्रेससँग कुरा गर्ने पाण्डेको भनाइ छ। नेकपाका शीर्ष नेताहरू प्रदेश एकता सभाका क्रममा छन्। केही दिनमा कांग्रेस सभापति देउवासँग छलफलको तयारी भइरहेको छ।

‘प्रदेश सरकारमा कसैको पनि बहुमत छैन, जो हामीसँग मिल्न आउँछ, मिलेर सरकार बनाउँछौँ,’ प्रचण्डका विश्वासपात्र एक नेताले नेपालखबरसँग भने, ‘राष्ट्रिय सभामा पनि त्यही हो। हामीसँग जो मिल्न आउँछ, उसैसँग मिलेर चुनाव लड्छौँ।’

कांग्रेस–एमालेबाहेक अरुसँग मिल्दा के हुन सक्छ भनेर पनि यतिबेला हिसाबकिताब निकाल्ने काम भइरहेको उनले बताए।

‘कांग्रेससँग सहकार्य हुन सक्छ। मधेसमा सुरु भइसकेको कारणले त्यो सम्भावना छ,’ ती नेताले थपे, ‘त्यसो भएमा प्रदेश हुँदै राष्ट्रिय सभासम्म पुगिन्छ। कांग्रेस सभापति शेरबहादुर देउवासँग संयोजक प्रचण्ड संवादमै हुनुहुन्छ।’

नेकपाका सहसंयोजक माधवकुमार नेपालले मधेसमा कांग्रेससँग भएको सहकार्यले आगामी दिनको बाटो देखाएको भने पनि अरु खुलाउन चाहेनन्। 

‘मधेसमा भयो, अन्य प्रदेशमा के होला, अहिलेसम्म निश्चित भइसकेको छैन,’ नेपालले नेपालखबरसँग भने, ‘राष्ट्रिय सभाका विषयमा पनि अहिलेसम्म केही भइसकेको छैन, अब हेरौँ।’

नेकपाले थाल्यो चुनावी अभियान  
कांग्रेस र एमालेले प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका छन्। एमालेले मंसिर ९ गते रिट दायर गरेको थियो भने कांग्रेसले गत आइतबार।

प्रतिनिधि सभा पुनर्स्थापनाको लागि दुई दल एकै ठाउँमा उभिएका बेला विघटित प्रतिनिधि सभाको तेस्रो ठूलो दल नेकपा चुनावको पक्षमा उभिएको छ। चुनावी गतिविधि थालिसकेको नेकपाका सहसंयोजक माधवकुमार नेपालले बताए।

‘चुनावबाहेक अरु समाधान छैन, हामी निर्धारित मितिमै हुनुपर्छ भन्ने पक्षमा छौँ,’ उनले भने, ‘कि चुनाव हुन सक्दैन भनेर सरकारले भन्नुपर्‍यो। नत्र चुनावको विकल्प छैन। कांग्रेस–एमाले पुनर्स्थापनाको पक्षमा गए पनि हामी पछिपछि लाग्दैनौँ।’

फागुन २१ गते चुनाव गराउने म्यान्डेट पाएर भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेकी थिइन्। मन्त्रिपरिषद् नबन्दै कार्कीले गरेको विघटन असंवैधानिक भएको भन्दै एमाले सर्वाेच्च गएको थियो। 

नेकपाका नेता राजेन्द्र पाण्डे चुनावबाट नयाँ प्रतिनिधि आएर सरकार बनाएपछि मात्र संविधान बाँच्ने भएकोले आफूहरू अदालत नगएको बताउँछन्।  

‘अहिले संवैधानिक हिसाबले जुन अप्ठेरो अवस्था सिर्जना भएको छ, संविधान रक्षाको लागि पनि चुनाव हुनुपर्छ भनेर ठूलाठूला सभा गरिरहेका छौँ, पार्टी एकता गरिरहेका छौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad