नेकपा एमालेमा एघारौँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी रहेका केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रचार अभियान थालिसकेका छन्। दुवै पक्षले डिजिटल प्रचार सामग्री बनाएका छन्।
ओली पक्षले पोस्टरमा ओलीको ठूलो तस्बिर राख्दै ‘मेरो होइन माटोको बोली, फेरि एक पटक केपी ओली’ नारा तय गरेको छ।
तर, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ र समर्थन पाएका पोखरेलले भने जबजका प्रणेता दिवंगत मदन भण्डारीको तस्बिर पृष्ठभूमिमा राख्दै ‘जोगाउन लोकतन्त्र र देशको अस्तित्व, एमालेलाई दृढ र सन्तुलित नेतृत्व’ नारा तय गरेको छ।
प्रचारमा उत्रिए पनि दुवै समूहले अझैसम्म प्यानल घोषणा गर्न सकेका छैनन्। जबकि, देशभरबाट लगभग सबैजसो महाधिवेशन प्रतिनिधि चुनिएर आइसकेका छन्। प्रतिनिधिहरू पनि दुई समूहमै विभाजित भएका छन्।
ओली समूहको प्यानल बनेपछि मात्र आफ्नो प्यानल बनाउने विद्या–ईश्वर समूहको रणनीति छ। त्यसो भएमा ओली पक्षका असन्तुष्टलाई आफ्नो पक्षमा तान्न सकिने उनीहरूको विश्वास छ।
सोही कारण महाधिवेशनमा आफ्नो पक्षमा ७० प्रतिशत बढी प्रतिनिधि चुनिएको दाबी गर्दै आएका ओली पनि प्यानल घोषणा गरिहाल्न हच्किएका छन्।
महाधिवेशनमा नेताहरूको व्यवस्थापन गर्नुपर्ने भएपछि अध्यक्ष ओली फेरि विधान संशोधन गर्नुपर्ने दबाबमा छन्। गत भदौ २०–२२ मा ललितपुरमा भएको महाधिवेशनले विधान संशोधन गर्दै स्थायी कमिटी नराख्ने, केन्द्रीय कमिटीको संख्या घटाएर २५१ बनाउने र पदाधिकारी संख्या १५ जनामा झार्ने निर्णय गरेको थियो।
उपाध्यक्ष गुरु बरालका अनुसार केही विषय मिलाउनुपर्ने भएकोले अहिले समूह निर्माणमा हतार नगरिएको हो।
‘विधानमा केही संशोधन त गर्नुपर्ने छ। कुनकुन विषय, कसरी भन्ने कुरा यकिन गर्न बाँकी छ,’ उनले भने।
प्रतिनिधि चयन भएर आइसकेकोले अब पारित विधान महाधिवेशनले संशोधन गर्नसक्ने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बताउँछन्।
२०७८ साल मंसिरमा चितवनमा भएको दसौँ महाधिवेशनमा पनि बन्दसत्र सुरु हुनु अघि विधान संशोधन गरिएको थियो।
यसपटक पनि त्यही विधि अपनाउने सम्भावना रहेको नेताहरू बताउँछन्।
‘विधान महाधिवेशन राष्ट्रिय परिषद् सदस्यले गर्ने भए। पुरानो म्यान्डेट अनुसार चल्ने भएकाले उनीहरूले विधान, नीति कार्यक्रम पारित गर्छन्,’ उपाध्यक्ष बरालले भने, ‘नेतृत्व चयन गर्दा नयाँ निर्वाचनबाट आएका महाधिवेशन प्रतिनिधिले गर्ने भए। नीति र नेतृत्व एउटै लयमा हुनुपर्छ, अर्थात् एउटै मान्यताअनुसार जानुपर्ने हुन्छ। तर, यहाँ नीति र विधान एउटाले पारित गर्यो, नेतृत्व अर्काेले छान्ने भयो भनेपछि त त्यहाँ प्राविधिक समस्या देखापर्यो। यसमा अलि मिलेको छैन।’
यद्यपि, विधान संशोधन कसरी हुन्छ प्रष्ट नभइसकेको उनले बताए।
नेताहरू पदाधिकारी संख्या बढाउने, केन्द्रीय समिति बढाउने तयारी भइरहेको बताउँछन्। जेनजी आन्दोलको प्रभावस्वरूप केन्द्रीय कमिटीमा कोटा नै तोकेर चालीस वर्षमुनिका युवालाई अनिवार्य प्रतिनिधित्व गराइने तयारी छ।
तथापि, कति प्रतिशत युवाको सहभागिता गराउने भन्ने निश्चित भइनसकेको उपाध्यक्ष बरालले बताए।
एमालेले महाधिवेशन प्रतिनिधिमा पनि २५ प्रतिशत चालीस वर्षमुनिका युवा ल्याउनैपर्ने व्यवस्था गरेको थियो। एघारौँ महाधिवेशनबाट निर्वाचित हुने युवा केन्द्रीय सदस्यको संख्या विधानमै किटान गरिने बरालको भनाइ छ।
अर्का एक पदाधिकारीका अनुसार पार्टीभित्रको एकतालाई खलल पुग्न नदिन पारित भएको विधान केही संशोधन गर्नुपर्ने ओलीले बताएका छन्।
‘विधान संशोधन गरेर भए पनि एकता कायम गर्ने कि भन्ने छ, यो सबैको आग्रह हो,’ ओलीका विश्वासपात्र ती नेताले भने, ‘दुई वटा समूह हुँदा प्रस्ट रूपमा पार्टीमा कित्ताकाट हुन्छ, त्यो राम्रो संकेत होइन।’
तर, ओलीलाई आफ्नै समूहका नेता मिलाउन सहज छैन। त्यही भएर उनले विधान संशोधनको तयारी थालेको अर्का एक नेताले बताए।
‘पुराना नेताको व्यवस्थापन, नयाँका लागि अवसर र केही दोहोर्याउन पर्नेछ, नेताहरू मिलाउन गाह्रो छ, त्यही भएर अध्यक्षज्यूले विधानमा केही हेरफेर गराउने कोसिस गर्नुहुन्छ,’ ती नेताले थपे।
त्यसैले अध्यक्ष ओलीले अन्तिम घडीमा मात्र प्यानल घोषणा गर्ने ती नेताले दाबी गरे।
महासचिवको दाबेदार उपमहासचिव गुरुङ पनि प्यानलको बारेमा अहिलेसम्म अध्यक्षले कुनै छलफल नभएको दाबी गर्छन्।
ओलीले अहिले केन्द्रीय कमिटीदेखि महाधिवेशन प्रतिनिधिलाई भक्तपुरस्थित गुण्डु निवास बोलाएर कुरा गरिरहेका छन्। तेस्रो कार्यकालका लागि अध्यक्ष उठ्न लागेका उनको चाहना विद्या–ईश्वर समूहलाई फराकिलो मतान्तरले पराजित गरेर देखाउने छ।
‘यो एकताको महाधिवेशन हुनेछ,’ उनी निकट एक नेताले भने।
Shares

प्रतिक्रिया