जेनजी आन्दोलनका बेला गृहसचिव रहेका गोकर्णमणि दुवाडीले भदौ २३ गते भएको घटनामा सुरक्षा बलले आफ्नो र हातहतियारको सुरक्षाका लागि बल प्रयोग गरेको दाबी गरेका छन्।
मंसिर ७ गतेदेखि अनिवार्य अवकाशमा गएका दुवाडीविरुद्ध कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमा जवाफ पेश गर्दै उनले यस्तो भनाइ राखेका हुन्।
'शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मीले कानून बमोजिम आत्मरक्षा, हातहतियारको रक्षा गर्न सुरक्षा उपाय अपनाउनैपर्ने हुन्छ', लिखित जवाफमा दुवाडीले भनेका छन्, 'उक्त मितिमा सुरक्षा सम्बेदनशीलताको आधारमा आत्मरक्षा, हातहियार रक्षा तथा सार्वजनिक सम्पत्तिको रक्षा र संरक्षण गर्नुपर्ने अवस्था आएको परिस्थितिले देखाउँछ।’
शान्तिपूर्ण भेलाको अनुमति लिएर आएका प्रदर्शनकारी सरकारी र सार्वजनिक क्षेत्रमा प्रवेश गरेपछि सुरक्षाकर्मीका हातहतियार र गोलाबारुदको सुरक्षामा खतरा उत्पन्न भएको उनको तर्क छ।
'संसद भवनको परिसरभित्र प्रवेश गर्ने स्थिति देखिएपछि शान्ति सुरक्षा, सरकारी सम्पत्ति र सुरक्षाकर्मीको जीवन तथा हतियार संरक्षण गर्न आवश्यक भयो, 'दुवाडीले जवाफमा लेखेका छन्। सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी पूरा गरेकोमा कसैलाई कारबाही गर्न माग गर्नु अनुचित भएको उनको तर्क छ।
जेनजी आन्दोलनपश्चात् गठित सरकारले दुवाडीलाई गृह मन्त्रालयबाट राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरेको थियो। यो सरुवालाई धेरैले आन्दोलनका बेलाको घटनासँग जोडेर हेरेका छन्। उनी सचिवहरूमध्ये प्रथम वरियतामा थिए। मुख्यसचिव भएनन्, सचिवबाटै अवकाश थिए।
गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले जेनजी घटनाको अनुसन्धान गर्दै प्रारम्भमा दुवाडीलाई काठमाडौं उपत्यकाबाहिर जान प्रतिबन्ध लगाएको थियो। पछि फिर्ता लिइएको थियो।
दुवाडीविरुद्ध दायर रिट निवेदनमा उनलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गरिएको छ। निवेदकहरूले जेनजी घटनामा अत्यधिक बल प्रयोग भएको र त्यसको जिम्मेवारी तत्कालीन गृहसचिवले लिनुपर्ने तर्क गरेका छन्।
Shares

प्रतिक्रिया