राजनीति


निर्वाचन आयोगमा नयाँ २५ दल दर्ता, दलको संख्या १४३ पुग्यो

निर्वाचन आयोगमा नयाँ २५ दल दर्ता, दलको संख्या १४३ पुग्यो

नेपालखबर
मंसिर १५, २०८२ सोमबार ९:३९, काठमाडौँ

आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा २५ वटा नयाँ दल दर्ता भएका छन्। 

नयाँ दर्ता भएका २५ सँगै आयोगमा यसपटक एकसय १९ दल दर्ता भएका छन्। दल दर्ताका लागि एकसय २० दलले निवेदन दिए पनि ११९ दल दर्ता भएका निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। 

निर्वाचन आयोगले सुरुमा मंसिर १ देखि १० गतेसम्म दल दर्ताको लागि निवेदन दिने समय छुट्याएको थियो। त्यसपछि आयोगले चार दिन समय थपेको थियो। थपिएको समय पनि आइतबार सकिएको छ। 
 
अव निवेदनको छानबिनपछि २० मंसिरमा दर्ता भएका दलहरुको अन्तिम सूची प्रकाशन गरिने आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार १४ दलबाट दुई वा त्यसभन्दा बढी दल मिलेर एकल चुनाव चिह्न लिने गरी ६ वटा निवेदन परेका छन् । एक्लै चुनाव लड्ने गरी १०५ दलले निवेदन दिएका छन्। 

विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका १४ वटै दलले दल दर्ताको लागि निवेदन दिएका छन्।

नयाँ र पुरानासँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १४३ पुगेको छ। आयोगमा दर्ता भएका दलहरूले पनि प्रतिनिधिसभा निर्वाचनमा भाग लिन छुट्टै दल दर्ता गर्नुपर्ने प्रावधान छ। पुराना २४ दलले भने आगामी निर्वाचन प्रयोजनको लागि आयोगमा निवेदन दिएका छैनन्। 

धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई (सामापाङ) ले ‘श्रम संस्कृति’ नामको पार्टी आयोगमा दर्ता गरेका छन्। 

त्यसैगरि व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितले ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता गरेका छन् भने रेशम चौधरीको अगुवाइमा ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ आयोगमा दर्ता भएको छ। 

त्यसैगरि वर्तमा सरकारमा ऊर्जामन्त्री रहेका कुलमान घिसिङको संरक्षकत्वमा ‘उज्यालो नेपाल पार्टी’ पनि निर्वाचन आयोगमा दर्ता भएको छ। यो पार्टीको अध्यक्ष भने अरुणकुमार उपाध्याय छन्। 

अध्यक्ष राजेश पोर्तेको नेतृत्वमा ‘राष्ट्रिय परिवर्तन पार्टी’ पनि निर्वाचन आयोगमा दर्ता भएको छ। रियाज अहमद शेषले आयोगमा ‘राष्ट्रिय जनमत पार्टी’ दर्ता गराएका छन् । 

त्यसैगरि अधिवक्ता रमणकुमार कर्णको संयोजकत्वमा ‘जनादेश पार्टी, नेपाल’ आयोगमा दर्ता भएको छ भने दलित अभियन्ता खगेन्द्र सुनारले ‘हाम्रो पार्टी नेपाल’ दर्ता गराएका छन्। उनको पार्टी भने दर्ता प्रक्रियामै रहेको आयोगले जनाएको छ। 

त्यसैगरि पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालको अगुवाइमा ‘समुन्नत नेपाल पार्टी’ दर्ता भएको छ। 

गणेशकुमार मण्डलको अगुवाइमा ‘सार्वभौम नागरिक पार्टी’ र योगेन्द्र मण्डलको अगुवाइमा ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ पनि आयोगमा दर्ता भएको छ।

त्यसैगरि श्रेया केसीको अध्यक्षतामा ‘नागरिक सेवा पार्टी’ दर्ता भएको छ भने नुमा लिम्बूले  ‘समावेशी समाजवादी पार्टी’ दर्ता गराएकी छन्। 

त्यसैगरि विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाइमा ‘नागरिक बचाउ दल’ पनि आयोगमा दर्ता भएको छ। यो पार्टीको अध्यक्षमा माधवप्रसाद खतिवडा छन्। 

त्यसैगरि दीपककुमार साहको अगुवाइमा ‘सर्वोदय पार्टी’ दर्ता भएको छ भने प्रकाश खड्काको नेतृत्वमा ‘नेपाल जनसेवा पार्टी’ पनि आयोगमा दर्ता भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad