सहरी विकासमन्त्री कुलमान घिसिङले देशलाई समृद्ध बनाउन एकअर्कालाई गाली गरेर होइन, एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।
धरानमा आयोजित चौथो ‘१० करोड बज्रगुरु जप, एक हजार २०० प्राचीन अष्टगुरु रिन्पोछे लिला विश्व शान्ति पूजा तथा ङ्युङ्ने व्रत २०८२’ को शनिबार समापन समारोहमा घिसिङले नयाँ सोचका व्यक्ति र वैकल्पिक शक्ति एकजुट भएर अघि बढे मात्र मुलुकले रूपान्तरणको मार्ग समात्ने बताए।
आपसमा गालीगलौज र आरोपप्रत्यारोपले होइन, एकता र सहकार्यले मात्र राष्ट्र अघि बढ्ने उनको भनाइ थियो। ‘हामी एकअर्कालाई गाली गरेर होइन, एकजुट भएर अघि बढ्नु आजको आवश्यकता हो। सबै एक भएर अघि बढ्दा मात्र देश समृद्धितर्फ जान्छ,’ घिसिङले भने।
आगामी निर्वाचनलाई देश परिवर्तनको ठूलो अवसरका रूपमा व्याख्या गर्दै जनतालाई जिम्मेवारीपूर्वक सही नेतृत्व छनोट गर्न आग्रह गरे। ‘नेपाललाई अन्धकारबाट उज्यालोतिर लैजान सही नेतृत्व छान्नुपर्छ। सही व्यक्ति सही समयमा सही स्थानमा पुग्यो भने देश विकासले गति लिन्छ,’ उनले भने, ‘राजनीतिक परिवर्तन मात्र पर्याप्त हुँदैन। सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र युवाका लागि रोजगारी सिर्जना नभएसम्म देशले वास्तविक उन्नति हासिल गर्न सक्दैन।’
वर्तमान सरकारको प्रमुख दायित्व आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने रहेको उल्लेख गर्दै उनले नेपाललाई स्थायित्वतर्फ डो¥याउन सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया