जेनजी आन्दोलनका क्रममा हायात होटलस्थित क्यासिनोको काउन्टरमा रहेको रकम लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्।
गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा केही युवा हायात होटल पुगेका थिए। उनीहरूले हतियार देखाएर क्यासिनोको काउन्टरमा रहेको रकम लुटेका थिए। क्यासिनोमा तोडफोड तथा आगजनी समेत गरेका थिए।
त्यसमा संलग्न व्यक्तिको खोजतालस गर्ने क्रममा काठमाडौंँको बुढानिलकण्ठ क्षेत्रबाट दुई जना पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार, काठमाडौँ महानगरपालिका–६, बौद्धका ४२ वर्षीय सेठ्ठी भनिने दावा शेर्पा र बुढानिलकण्ठ नगरपालिका–१२ का २९ वर्षीय रञ्जित खड्की पक्राउ परेका हुन्।
दुवै जनामाथि चोरी तथा डाँकासम्बन्धी कसूर र आपराधिक उपद्रव गर्न नहुने कसूरमा अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए। दुवै जनालाई सात दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौँबाट अनुमति लिइएको छ।
Shares

प्रतिक्रिया