काठमाडौँमा अन्तर्राष्ट्रिय महिला सेमिनार सुरु भएको छ।
तीन दिनसम्म चल्ने उक्त सेमिनारमा नेपालसहित विश्वका विभिन्न देशहरूबाट चार सयभन्दा बढी महिला नेत्रीहरू सहभागी छन्।
कार्यक्रमको उद्घाटन विभिन्न महादेशका को–अर्डिनेटरहरूले संयुक्तरुपमा दीप प्रज्वलित गरी गरेका थिए।
एसिया को–अर्डिनेटर दुर्गा पौडेल, अफ्रिका को–अर्डिनेटर मालि पोला, ल्याटिन अमेरिका को–अर्डिनेटर एरिक लुसा, युरोप को–अर्डिनेटरहरू नताली, करोला क्युरिन, सुसिवारा, मिडिल इस्ट को–अर्डिनेटर डिलार्जले संयुक्त रुपमा उद्घाटन गरे।
उद्घाटन समारोहमा अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन, क्रान्तिकारी महिला संघबाट अम्बिका मुखरी, अखिल नेपाल महिला क्रान्तिकारीबाट दामा शर्मा, बन्धु चन्द, समाजवादी महिला संघबाट कमला विश्वकर्मा, वैज्ञानिक समाजवादी महिला संघबाट राजेश्वरी लगायतले शुभकामना मन्तव्य दिएका थिए।

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव सिपी गजुरेल, जर्मन कम्युनिस्ट पार्टी (एमएलपिडी)ले अन्तर्राष्ट्रिय सेमिनारलाई लिखित शुभकामना पठाएका थिए।
त्यस्तै अफगानिस्तान कम्युनिस्ट पार्टी महिला समितिले भिडिओ सन्देश पठाएको थियो।
सेमिनारमा विभिन्न देशका महिला प्रतिनिधिहरूबीच महिला अधिकार, साम्राज्यवाद, पर्यावरणलगायतका विभिन्न विषयमा छलफल गरिने छ।
सेमिनारको पहिलो सेसनमा पूर्वसांसद एव् राष्ट्रिय जनमोर्चाका उपाध्यक्षसमेत रहेकी महिला विश्व सम्मेलन एसिया को-अर्डिनेटर दुर्गा पौडेलले ‘साम्राज्यवादलाई कसरी परास्त गर्ने’ विषयमा कार्यपत्र प्रस्तुत गरेकी छन्।
Shares

प्रतिक्रिया