ad ad

राजनीति


नेकपा सचिवालय बैठक सकियो, २० गते बस्ने अर्काे बैठकले स्थायी समिति ताेक्ने (भिडियाे)

नेकपा सचिवालय बैठक सकियो, २० गते बस्ने अर्काे बैठकले स्थायी समिति ताेक्ने (भिडियाे)

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १५:२१,

सत्तारुढ पार्टी नेकपाभित्रको जारी विवादबारे निर्णायक हुने भनिएको सो पार्टीको सचिवालय बैठक सकिएको छ।

अर्काे बैठक बैशाख २० गते बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘शनिबार बस्ने सचिवालय बैठकले नै स्थायी समिति बैठकको मिति तोक्नेछ। यो बीचमा नेताहरुबीच छलफल जारी रहनेछ,’ श्रेष्ठले सञ्चारकर्मीसँग भने।

श्रेष्ठले बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता, सरकार र केहि नेताहरुले माग गरेको स्थायी समिति बैठक बारेमा र त्यससँग जोडिएका विविध पक्षबारे गम्भीर छलफल भएको बताए।

oli-prachanda-in-mask.jpgबैठकपछि संयुक्त तस्बिर खिचाउँदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली (दायाँ) र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।

‘यसबीचमा पार्टीको नेतृत्व टीमले अनौपचारिक गृहकार्यको प्रस्ताव पनि अघि बढाउने र आगामी २० गते पुनः सचिवालय बैठक बस्ने निर्णय गरेको छ,’ श्रेष्ठले भने।

उनका अनुसार सो बैठकमा एउटा यी विविध विषयमा एक विस्तृत प्रस्ताव ल्याइनेछ र सोहि बैठकले माग भइआएको स्थायी समिति बैठकबारे पनि आवश्यक निर्णय गर्नेछ।

‘सचिवालयको बैठकले अहिलेको आवश्यकतासँग मेला खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने’, श्रेष्ठले भने, ‘र, जनाताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ र आवश्यक प्रस्तावहरू तयार गर्नेछ।’

प्रवक्ता श्रेष्ठले जारी गरेको सो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बसेको थियो।

‘बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिको बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भयो। सबै सदस्यहरूले आआफ्ना धारणाहरू राख्नुभयो,’ श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसैबीच प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सचिवालय बैठकले पार्टी एकतालाई मजबुत बनाउने निर्णय गरेको जनाएका छन्।

रिमालले ट्वीटमा भनेका छन्, ‘पार्टी एकतालाई मजबुत बनाउने, सरकारले गरेका राम्रा कामको पक्षमा दृढतापूर्वक उभिने र वैशाख २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ।’

बैठक साढे तीन घण्टा चलेकाे थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .