राजनीति


पर्वतमा पार्टी कार्यालय आगजनी गर्नेविरुद्ध एमाले र कांग्रेसले दिए जाहेरी

पर्वतमा पार्टी कार्यालय आगजनी गर्नेविरुद्ध एमाले र कांग्रेसले दिए जाहेरी

नेपालखबर
मंसिर ३, २०८२ बुधबार २०:५, पर्वत

भदौ २४ गते जेनजीको आवरणमा भइरहेको आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालय, व्यक्तिगत घर र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी परेको छ। 

नेपाली कांग्रेस पर्वत र नेकपा (एमाले) पर्वतले आज संयुक्त रूपमा जाहेरी दिएका हुन्। नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीसहित पदाधिकारी र एमालेका जिल्ला अध्यक्ष गोविन्द पहाडीसहित पदाधिकारीहरू जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतमा पुगेर जाहेरी दर्ता गरेका हुन्। उनीहरूले आगजनी र तोडफोडमा संलग्नको तस्बिर, भिडियो फुटेज र विवरणसहित जाहेरी दर्ता गरेका हुन्। 
 
अराजकता मच्चाउनेमा अधिकांश कुलतमा लागेका, लागुऔषध प्रयोगकर्ता, प्रहरीमा विभिन्न समयमा मुद्दा परेकोको जाहेरीमा उल्लेख छ। अध्यक्ष पहाडीले आज पार्टी कार्यालय र पूर्व मन्त्री पद्म गिरीको घरमा आगजनी गर्नेले भोलि समाजमा कसैलाई पनि बाँकी नराख्ने भएकाले तत्काल कारबाहीको दायरमा ल्याउन आग्रह गरे। अहिले जाहेरी मात्र दिइएको र कारबाही नभएमा किटानी जाहेरीसमेत दिने उनको भनाइ छ। 

भदौ २४ गते भएको आगजनीबाट नेकपा एमालेको पार्टी कार्यालयमा ४४ लाखभन्दा बढी, नेपाली कांग्रेसको कार्यालयमा साढे २१ लाख, पूर्वमन्त्री पद्म गिरीको घर र माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी गरेका थिए। त्यस्तै, सहिद गोविन्दनाथ शर्मा र अमृतप्रसाद जोशीको सालिकमा तोडफोड गरेका थिए। 

जाहेरी बुझ्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जाहेरीका आधारमा भोलिदेखि नै सुक्ष्म अनुसन्धान सुरु गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad