नेपाली कांग्रेसले कांग्रेस सुधार अभियान गठन गरेको छ। जेनजी आन्दोलनले उत्पन्न गरेको राजनीतिक चुनौतीलाई सम्बोधन गर्दै नेपाली कांग्रेसभित्र युवामुखी सुधार आवश्यक भएको निष्कर्षसहित नेपाली कांग्रेसभित्रका ४० वर्ष मुनिका युवाहरूले ‘नेपाली कांग्रेस सुधार अभियान यु-४० ’ गठन गरेका हुन्।
नेपाल विद्यार्थी सङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालको सक्रियतामा पार्टीभित्र अवसरको न्यायोचित वितरण, युवाको पहुँच विस्तार र सङ्गठन सुधारको उद्देश्यसहित बुधबार ४० वर्षमुनिका १०१ युवाहरूको केन्द्रीय संयोजन समिति गठन गरिएको हो।
एक विज्ञप्ति जारी गर्दै अभियानले पटक-पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय समिति बैठकप्रति असन्तुष्टि जनाएको छ। उसले पार्टी सुधार, पारदर्शिता र जवाफदेहिताको मागलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने बताएको छ।
विज्ञप्तिमा कांग्रेसले तल्लो तहदेखि केन्द्रसम्म लोकतान्त्रिक मूल्यअनुसार निर्णय गर्न नसक्नु, समसामयिक चुनौतीअनुसार रूपान्तरणको मार्गमा अघि बढ्न हिचकिचाउनु र समयानुकूल नेतृत्व पुनर्गठनमा ढिलाइ हुनु दुःखद् रहेको उल्लेख छ।
पार्टीभित्र आन्तरिक सुशासनलाई संस्थागत बनाउँदै आगामी सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचनमा कांग्रेसको तर्फबाट ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्न माग अभियानले राखेको छ।
साथै, हरेक उम्मेदवार छनोट प्रक्रियामा प्राइमरी इलेक्सन अनिवार्य गरिनुपर्ने, भ्रष्टाचारविरुद्ध खबरदारी र लोकतन्त्र संरक्षणका लागि नयाँ बहस र पैरवी आवश्यक रहेको अभियानले बताएको छ।


Shares

प्रतिक्रिया