लगानी बोर्ड नेपालको बुधबार बसेको बैठकले ४३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजनाको अनुमानित लागत स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ।
उक्त आयोजनाको अनुमानित लागत ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार रुपैयाँ रहेको छ। बुधबार सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ५ बमोजिम गठित लगानी बोर्डको ६७औँ बैठक प्रधानमन्त्री एवम् लगानी बोर्डकी अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो।
यसैगरी, बैठकले अरुण -३ जलविद्युत परियोजना (९०० मेगावाट) को सिधा सम्झौताको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तथा पश्चिम सेती जलाशययुक्त जलविद्युत परियोजना (८०० मेगावाट) को सर्वेक्षण अनुमतिपत्रको म्याद थप गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, बैठकले परियोजना विकासकर्ता कम्पनी ब्लेजपिक ग्लोबल ग्रुप लिमिटेड, हङकङद्वारा आव्हान नगरिएको प्रस्तावको रुपमा पेश भएको अटो सर्भिस इको-इन्डस्ट्रियल पार्क परियोजना (अनुमानित लागत १६ अर्ब) को विकास तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी प्रयोजनार्थ समझदारी गरी सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत भएको बोर्डले जनाएको छ।
लगानी बोर्डको कार्यालयको लागि चालू आर्थिक वर्ष २०८२/८३ का लागि आवश्यक विभिन्न सेवा, समूह र श्रेणीका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्न तथा सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को संशोधनको मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्ने निर्णय गरिएको छ।
Shares

प्रतिक्रिया