नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्माले देशको राष्ट्रिय राजनीति हाल अत्यन्तै विषम र असामान्य परिस्थितिमा रहेको बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले अहिले देशको अवस्था सामान्य नभएको उल्लेख गर्दै यस्तो चुनौतीपूर्ण परिस्थितिमा पनि एमाले जनताको अधिकार रक्षा गर्दै सडकमै उभिएको बताए।
सचिव विश्वकर्माका अनुसार नेपाली जनताले रगत–पसिना र ठूलो बलिदानबाट प्राप्त संविधानलाई हाल मूर्छितू बनाउन खोजिएको र व्यवस्थामाथि विभिन्न तरिकाले प्रहार गर्ने गतिविधि बढेको छ। उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सबैको साझा दायित्व रहेको उल्लेख गरे।
उनले भने, ‘देश असामान्य राजनीतिक परिस्थितिबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा संविधान र व्यवस्था चिथोर्ने क्रियाकलाप भइरहेका छन्। त्यसको प्रतिवाद गर्दै नेकपा एमाले देशभर एकताबद्ध रूपमा सडकमा उभिएको छ।’
संसद् विघटनलाई असंवैधानिक बताउँदै एमालेका सांसदहरू कानुनी प्रक्रियामा जाने निर्णयमा पुगेको जानकारीसमेत उनले दिए।
विश्वकर्माले एमालेले नेपाली समाज र राजनीतिलाई चलायमान बनाउँदै आफ्ना धारणा जनतामाझ स्पष्टसँग प्रस्तुत गरिरहेको उल्लेख गर्दै देश, संविधान र व्यवस्थाको सुरक्षामा पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको दोहोर्याए।
Shares

प्रतिक्रिया