राजनीति


जेनजी अन्दोलनको 'साइड इफेक्ट': अनेरास्ववियु अध्यक्षमा धामी

जेनजी अन्दोलनको 'साइड इफेक्ट': अनेरास्ववियु अध्यक्षमा धामी

नेपालखबर
मंसिर १, २०८२ सोमबार १६:२६, काठमाडौँ

अनेरास्ववियु केन्द्रीय समिति बैठकले दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ। डा.सुजन कडरियाले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै सोमबार धामीलाई नयाँ अध्यक्ष चयन गरिएको हो।

पदाधिकारीको निर्णय सचिवालय हुँदै केन्द्रीय कमिटीबाट अनुमोदन भएर पूर्ण कार्यान्वयनमा गएको हो। बैठकले उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव र विकास श्रेष्ठलाई उपाध्यक्ष पदमा राख्ने निर्णय पनि गरेको छ।

जेनजी आन्दोलनको 'साइड इफेक्ट'

सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स (ट्विटर), युट्युबसहित सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाएपछि भ्रष्टाचारको विरोधमा जेन-जी अन्दोलन भएको थियो। भदौ २३ गते देशभरि प्रदर्शन भएको थियो भने आन्दोलनको दोस्रो दिन भदौ २४ गते स्थिति हिंसात्मक बनेको थियो। अन्दोलन क्रममा ७६ जना मारिएका थिए।

जेनजी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा घोषणा गरेका थिए। जेनजी आन्दोलनका क्रममा उनको घरमा पनि आक्रमण भएको थियो। त्यसपछि आफू विक्षिप्त बनेको भन्दै उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीना घोषणा गरेका थिए।

माउ पार्टी नेकपा एमालेले घर फर्क अभियान घोषणा गरी रामकुमारी झाँक्री, किसान श्रेष्ठहरूलाई पार्टीमा भित्र्याएपछि कात्तिक २४ गते कडरिया पनि कार्यालय फर्किएका थिए। केही पदाधिकारीले जुलुससहित उनलाइ कार्यालय लगेका थिए।

महासचिव दीपक धामीले पदबाट राजीनामा दिइसकेका अध्यक्षलाई फेरि पदमा नफर्कन चेतावनी दिँदै वक्तव्य जारी गरेपछि अनेरास्ववियूमा विवाद बढेको थियो। बागमती प्रदेशका ६ जिल्ला अध्यक्ष तथा इन्चार्जहरूले कडरियालाई नेता स्वीकार नगर्ने भन्दै संकटको बेला भाग्ने व्यक्तिलाई नेतृत्वको रूपमा नमान्ने भनेर हस्ताक्षर अभियान चलाएका थिए। यसअघि भदौ २८ गते संगठन अप्ठ्यारोमा पर्दा राजीनामा दिएर भागेको भन्दै अनेरास्ववियुका नेता-कार्यकर्ताले अध्यक्ष कडरियाको नेमप्लेट झिकेर जलाएका थिए।

केही दिनअघि भक्तपुरको गुण्डु पुगेका धामीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष बन्न सुझाएपछि कडरियाको राजीनामा फिर्ता औचित्यहीन बनेको बताइन्छ। ओली र धामीबीचको यो भेटपछि अनेरास्ववियुको नेतृत्व परिवर्तनको प्रक्रिया तीव्र बनेको हो।

उनले राजीनामा स्वीकृत गरेकोमा धन्यवाद पनि दिएका छन्।  

धामी अघिल्लो महाधिवेशनमा महासचिवमा निर्वाचित भएका अनेरास्ववियू नेता हुन्। उनी संगठनमा सक्रिय र प्रभावशाली नेता मानिन्छन्। उनी सामु संकटग्रस्त संगठनलाई एकताबद्ध गर्ने चुनौती छ।

कडरिया गत जेठमा भएको अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनमा प्रतिद्वन्द्वी प्रकाश पौडेललाई मात्र ७ मतले पछि पार्दै अध्यक्ष निर्वाचित भएका थिए। उनले ७३२ मत ल्याएर अध्यक्षमा विजयी हुँदा पौडेलले ७२५ मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad