नेपाल मजदुर किसान पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
सोमवार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर सो पार्टीका प्रेम सुवालगायतका नेताहरूले दल दर्ताका लागि निवेदन पेस गरेका हुन्।
त्यसक्रममा नेता सुवालले सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि आफूले पनि निर्वाचन आयोगमा निवेदन दिएको बताए।
उनले तत्कालका लागि मुलुकलाई निकास दिन निर्वाचनमा जानुको विकल्प नभएको समेत बताए। तत्काललाई निर्वाचनमार्फत नै मुलुकलाई निकास दिन उपयुक्त हुने नेता सुवालको निष्कर्ष थियो।
'निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको हुनाले त्यसका लागि हामी आएका हौँ। यो प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै निर्वाचनको प्रयोजनको लागि हो,' उनले भने, 'अहिले तत्काललाई निर्वाचनबाटै निकास आउँछ। जनताको अभिमत लिएर जानु नै उपयुक्त हुन्छ। अरु उपाय छैन तत्काललाई।’
नेता सुवालले वर्तमान सरकार निर्वाचन गराउने प्रयोजनका लागि बनेको पनि बताए। वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन गर्ने मिति तय गरिसकेको छ। निर्वाचन आयोगले निर्वाचनको तालिकासमेत ल्याइसकेको छ।
Shares

प्रतिक्रिया