राजनीति


टोपबहादुर रायमाझी भन्छन्ः पार्टी एकताका पक्षधरसँग सहकार्य हुन्छ

टोपबहादुर रायमाझी भन्छन्ः पार्टी एकताका पक्षधरसँग सहकार्य हुन्छ

सागर न्यौपाने
बैशाख १६, २०७७ मंगलबार १२:४०,

सत्तारुढ नेकपाभित्र पछिल्ला दिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एकातिर र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहित सचिवालयका बहुमत सदस्य अर्कातिर विभाजित छन्।

सरकारले पार्टीमा परामर्श नगरी दल बिभाजन गर्न मिल्ने र संबैधानिक परिषद् सम्बन्धी दुईवटा अध्यादेश ल्याएपछि चर्किएको विवाद झनै चुलिएको छ।

दुई तर्फका शीर्ष नेताहरु सांसददेखि स्थायी समितिका सदस्यहरुलाई आ–आफ्ना पक्षमा तान्ने अभियानमा लागेका छन्।

गतसाता नेकपाका २० जना नेताहरुले स्थायी समिति बैठक बोलाउन माग गर्दै हस्ताक्षर गरेका थिए। स्थायी समिति सदस्य तथा सांसद टोपबहादुर रायमाझी तीमध्ये एक हुन्।

तर उनले आफू गुटबन्दीको विरुद्धमा रहेको दाबी गरे। नेपालखबरसँग संक्षिप्त कुरा गर्दै रायमाझीले ठूलो लक्ष्यसहित दुई कम्युनिष्ट पार्टीको एकता भएको र उक्त एकता भाँड्ने सबैखालका षडयन्त्रका विरुद्ध आफू रहेको बताए।

नेकपाभित्र अहिले देखिएको विवाद थप चर्किदै गएको हो?
केही भएको होइन, नेताहरुले आ–आफ्ना डम्फु बजाउँदैछन्।

क–कसले बजाएका हुन् त डम्फु?
नेताहरुमा एक किसिमको मनोविज्ञान देखिएको छ। उहाँहरुका विचार जे छ त्यही भइदिए हुन्थ्यो भन्ने चाहेको देखिन्छ।

त्यस्ता बिचारले पार्टीलाई फुटको दिशातिर पनि लगेको संकेत हो कि?
अहिले पार्टीमा स्वेच्छाचारिता र हर्कतका विरुद्ध एकताबद्ध भएर जाने हो। यस्तो बेलामा गुट बनाउँदै पार्टी फुटको दिशामा जानु हुँदैन भन्ने मेरो मत हो। एकताको बिरुद्धमा हुने जुनसुकै हर्कतको म बिरोधमा छु। फुट्न दिनुहुँदैन भन्नेमा मेरो आफ्नो धारणा प्रष्ट छ।

त्यस्तो हर्कत कसले गरेको हो? प्रधानमन्त्री की अरु नेताबाट?
प्रधानमन्त्रीको मात्रै कुरा भएन, एकताको बिरुद्धमा भइरहेका जति पनि क्रियाकलाप छन् तिनीहरु गलत छन्।

पार्टी कसले फुटाउन खोजेको हो त?
त्यो त थाहा छैन मलाई। कसैले खोजेको हुनसक्छ अरु थाहा छैन मलाई।

तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकलौटी ढंगले चलाउन खोजेको, सुझावको पालना नगरेकोले समस्या आएको भन्ने आरोप छ नी?
ती सबै समस्याहरु सम्बोधन गर्न हामीले स्थायी समितिको बैठक बसाल्न माग गरेर ‘हस्ताक्षर’ बुझाएका छौं। त्यसमा पार्टीका समस्या, नेताका समस्याहरु अनि सरकारका समस्याहरु छन् भने त्यसलाई पार्टीमा छलफल गरेर समाधान गरेर जानुपर्छ।

अनि यो बीचमा सांसदहरु पनि कित्ता परिवर्तन गर्न लागे भन्ने छ, हो त?
मलाई थाहा छैन, मसँग कसैले छलफल पनि गरेको छैन।

तर, तपाईं आँफैले पनि कित्ता परिवर्तन गरेको भन्ने चर्चा के हो त फेरि?
बेकार हो। फाल्तु गलत कुरा हो त्यो। म गुटबन्दीको विरुद्धमा छु। मलाई बेकारमा जोडेका छन्, त्यो सत्य होइन।

तपाईं त प्रचण्ड निकट नेता, उहाँको अहिलेको कदम केका लागि भइरहेको रहेछ?
मलाई थाहा छैन। म पार्टी एकताको पक्षधर हुँ। कसैको गुटमा छैन। म पार्टी फुटाउने हर्कतको बिरुद्धमा उभिने हो। पार्टी एकताका पक्षधरहरुसँग सहकार्य गर्ने मेरो धारणा यही हो। अरु मैले केही सोचेको छैन। के–के गरेका छन् थाहा छैन। यहाँ मान्छेले अनेक गर्छन हेर्नुस्। तानतुन गरेर भागबण्डा गरेर आफ्नो स्वार्थपूर्ती गर्न खोज्नेहरु धेरै छन्।

ओलीजीलाई भेटेपनि हामी कराईरहेका हुन्छौं, प्रचण्डलाई भेटेपनि कराई रहेका हुन्छौं। राम्रो कुराको पक्षमा हुन्छौं, नराम्रो कुराको बिरोध गरिरहेका हुन्छौं। म कसैको गुटमा लागेर कसैलाई ठोक्ने गर्दिन। जसलाई भेट्यो त्यही कुरा भन्छु। राम्रो गरे प्रशंसा गर्छु, गलत गरे अगाडिबाटै आलोचना गर्छु।

त्यसो भए भैसेपाटी गठबन्धन गर्नु गलत हाे?
मलाई त्यसबारे चासै छैन, थाहै छैन। कसैले सल्लाह पनि गरेको छैन।

अनि गठबन्धन थाहा नहुने तर, त्यसैले माग गरेको स्थायी समितिको बैठक राख्न मागेर हस्ताक्षर चाहिँ किन गर्नुभएको त?
स्थायी समितिको बैठक औपचारिक प्रक्रिया हो। गठबन्धन गर्नु अर्काे कुरा हो के।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .